रुकुमका चार पालिकामा कांग्रेस–एमाले गठबन्धन

वैशाख १७, २०७९

हरि गौतम

रुकुम पश्चिम — जिल्लाका तीन स्थानीय तहमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीको निर्णय विपरीत नेकपा एमालेसँग गठबन्धन गरेका छन् । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन बनेको हो ।

उम्मेदवारी फिर्ता लिने दिन शुक्रबार नै कांग्रेस र एमालेको गठबन्धन पक्का भएको हो । यसअघि उम्मेदवारी दिने क्रममा पनि त्यसरी समायोजन गरी उम्मेदवारी दिइएको थियो । गठबन्धन भएका सबै पालिकामा नेपाली कांग्रेसले प्रमुख र अध्यक्ष तथा एमालेले उपप्रमुख उपाध्यक्षमा उम्मेदवारी कायम राखेका छन् ।

मुसीकोट नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपप्रमुखमा एमालेका थलबहादुर ओलीको उम्मेदवारी कायम गरिएको छ । एमालेबाट प्रमुखमा उम्मेदवारी दिएकी अन्जना चन्द गौतम र कांग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दिएकी निर्मला गिरीले उम्मेदवारी फिर्ता लिएका छन् ।

चौरजहारी नगपालिकाको प्रमुखमा कांग्रेसका प्रेमबहादुर ओली, उपप्रमुखमा एमालेका टंकप्रसाद ओली कायम भएका छन् । चौरजहारीको प्रमुखमा एमालेबाट डण्डी कार्की र उपप्रमुखमा कांग्रेसकी दिपा डाँगी खड्काले उम्मेदवारी फिर्ता लिए । आठबीसकोटको कांग्रेसका प्रमुखमा धिरेन्द्रकुमार बटालाको उम्मेदवारी कायमै छ भने उपप्रमुखमा एमालेका दिनेश चन्दको उम्मेदवारी कायमै छ ।

कांग्रेसको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएकी कमला थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । तर एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएकी कृष्णकुमारी मल्लले भने उम्मेदवारी फिर्ता लिन मानिन् । उनले आफै निर्वाचन लड्ने भन्दै पार्टीले उम्मेदवारी फिर्ता लिन भने पनि पनि मानेनन् । सानीभेरी गाउँपालिकामा कांग्रेसबाट गोरखप्रसाद चन्दले अध्यक्ष र एमालेबाट प्रकाश खड्काले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यहाँ उम्मेदवारी पनि यी दुई जनाको मात्रै परेको थियो । कांग्रेस र एमालेले वडातहसम्म गठबन्धन गरेका छन् । बाँफिकोट र त्रिवेणी गाउँपालिकामा मात्रै कांग्रेस एमालेको गठबन्धन भएन । तर यी दुई पालिकाका केही वडामा भने कांग्रेस एमालेको गठबन्धन भएको छ ।

पार्टीको केन्द्रीय निर्देशन विपरीत कांग्रेसले एमालेसँग गठबन्धन गरेको हो । सत्ता गठबन्धनसित गठबन्धन हुन नसकेपछि रुकुम पश्चिममा कांग्रेस र एमाले मिलेको हुन् । कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीले स्थानीय स्तरमा कतिपय पालिकामा गठबन्धन भएको बताए । जिल्लामा 'विशिष्ट अवस्था' रहेकाले माओवादी विरुद्ध नै एकताबद्ध हुनुपर्ने आवश्यक्तालाई पूरा गरिएको सभापति ओलीको भनाइ छ ।

एमाले जिल्ला अध्यक्ष नन्दराम देवकोटाले सृजनशिलतामै गठबन्धन भएको बताए । स्थानीय आवश्यक्ता अनुसार पालिकाका जहाँ जहाँ मिल्छ त्यहाँ त्यहाँ गठबन्धन भएको देवकोटाले बताए ।

जिल्लाका ५ पालिकामा माओवादी केन्द्र एक्लैले उम्मेदवारी दिएको छ भने मुसीकोट नगरपालिकामा एकीकृत समाजवादीसित गठबन्धन बनेको छ । प्रमुखमा माओवादी केन्द्रका वसन्तकुमार शर्मा र उपप्रमुखमा समाजवादीका विमलकुमार पुनले उम्मेदवारी दिएका छन् ।

आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेका छन् भने चौरजहारी नगरपालिकामा भने समाजवादीले माओवादीलाई सघाउने निर्णय गरेर उम्मेदवारी फिर्ता लिएको छ ।

स्थानीय तह निर्वाचन २०७९

हरि

Link copied successfully