गुल्मीमा चार जनाको उम्मेदवारी फिर्ता

वैशाख १७, २०७९

गगनशिला खड्का

गुल्मी — गुल्मीमा आफ्नै पार्टीविरुद्ध स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बागी उम्मेदवारमध्ये तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्लाको मदाने गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मदेवार विरुद्ध उम्मेदवारी दिएका काशीबहादुर बोहोराले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । उनले आफूलाई पार्टीले अन्याय गरेको कारण उम्मेदवारी दिएको बताएका थिए ।

त्यस्तै रेसुङ्गा नगरपालिका ४ मा आफ्नै पार्टीका वडाध्यक्ष पदका उम्मेदवार विरुद्ध उम्मेदवारी दर्ता गरेका कांग्रेसका क्षेत्रीय सहसचिव कृष्ण प्रसाद पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका छन् । 

धुर्कोट गाउँपालिकामा वडासदस्य पदमा उम्मेदवारी दिएका एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण घिमिरेले पनि उम्मदेवारी फिर्ता लिएको निर्वाचन अधिकृत मुना पौडेलले बताइन् ।

सत्यवती गाउँपालिकामा सत्तारुढ गठबन्धनले अन्याय गरेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका ओम बहादुर कुंवरले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत रुद्रलाल भुसालले जानकारी दिए ।

असन्तुष्ट भएर उम्मेदवारी दिएकामध्ये रुरुक्षेत्र गाउँपालिका १ का वडाध्यक्ष पदका उम्मेदवार रामलाल विकले उम्मेदवारी फिर्ता लिएका छैनन् । उनी २०७४ को निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन् ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडा नं ५ मा वडा अध्यक्षका रुपमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी देवी कुंवरले पनि उम्मेदवारी फिर्ता लिएकी छैनन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यका रुपमा निर्वाचित कुंवरले आफूलाई पार्टीले वडाध्यक्ष पदको उम्मेदवार नबनाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी थिइन् ।

स्थानीय तह निर्वाचन २०७९

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully