पार्टी प्रवेश गरेकै दिन मनोनयन दर्ता गराएकी माझीको उम्मेदवारी फिर्ता

वैशाख १७, २०७९

राजकुमार कार्की

सिन्धुली — मनोनयन दर्ताकै दिन माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेर उपाध्यक्षको उम्मेदवारी दिएकी संगीता माझीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष संगीता सत्ता गठबन्धनबाट उम्मेदवार नपाउने भएपछि मनोनयनको अन्तिम दिन १२ गते एमाले प्रवेश गरेकी थिइन् ।

२०७४ को निर्वाचनमा माझी माओवादी केन्द्रबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनले गठबन्धनकै उपाध्यक्ष उम्मेदवार बिमला माझीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको एमालेका एक नेताले बताएका छन् । संगीताले उम्मेदवारी फिर्ता लिएसँगै अब एक स्वतन्त्रसहित गाउँपालिका उपाध्यक्षका लागि चार जना प्रतिस्पर्धामा छन् ।

गठबन्धन उम्मेदवार बिमला बाहेक जनता समाजवादीबाट छलिमाया रानामगर, मंगोल नेशनल अर्गनाइजेसनबाट धनजरीमाया वल र स्वतन्त्र मञ्जु माझी उपाध्यक्ष पदमा कायम रहेका छन् । अर्का उपाध्यक्षका स्वतन्त्र उम्मेदवार राजन थापाले पनि उम्मेदवारी फिर्ता लिएको र अब सबै पदमा गरि १२५ जना उम्मेदवार कायम भएको निर्वाचन अधिकृत दुर्गा बञ्जाडेले जानकारी दिइन् ।

हरिहरपुरगढी गाउँपालिकामा अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानबहादुर राईले पनि उम्मेदवारी फिर्ता लिएका छन् । सोही गाउँपालिकामा माओवादी केन्द्रकी अनिताकुमारी राई र स्वतन्त्र मोहन काजी विकले उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् । सुनकोसी  गाउँपालिकामा जसपाबाट अध्यक्षमा शंकरबहादुर सार्की र उपाध्यक्षमा गोमाकुमारी आलेले उम्मेदवारी फिर्ता लिएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully