काठमाडौँ — वैशाख ३० मा हुने स्थानीय तहको चुनावका सन्दर्भमा वीरगन्ज महानगरपालिकाका मेयरका ३ जना प्रतिस्पर्धीसँग गरिएको कुराकानी :
विजय सरावगी, एमाले
वीरगन्जलाई महानगरपालिका बनाउन ८० प्रतिशत काम गर्न बाँकी छ । जुन स्पेसिफिकेसनमा लेखिएको छ, त्यो पूरा गर्न मैले दोस्रो पटक मेयरमा उम्मेदवारी दिएको हुँ । अर्को मेयर आयो भने बुझ्दाबुझ्दै ३ वर्ष बित्छ । नयाँ संविधान र नयाँ कानुनका कारण धेरै काम गर्न सकिएन । सिंहदरबारको अधिकार जनताको घरदैलोमा गएको त भनियो तर त्यो मुग्लिङमा रोकेर राखियो । वीरगन्जको समग्र विकास, समृद्धि र सफा वीरगन्जका लागि मैले दोस्रो पटक उम्मेदवारी दिएको हुँ । पुरानो वीरगन्ज साँघुरो हुँदै गएको छ । विजयी भएँ भने एकीकृत जाँच चौकी (आईसीपी) अगाडि ल्यान्ड पुल गरी नयाँ सहर बसाउने योजना छ । काठमाडौंको वाग्मती करिडोर जस्तो सिर्सिया करिडोर निर्माण गर्ने योजना छ । वीरगन्जको डुबान समस्यालाई समाधान गर्न भोडाहा खोलामा बाँध निर्माण गर्ने योजना प्राथमिकतामा रहनेछ ।
राजेशमान सिंह, जनता समाजवादी पार्टी
महानगरवासीको दैनिकीसँग जोडिएका समस्या समाधान गर्दै जाने विषय मेरो प्राथमिकतामा रहनेछ । फोहोर संकलन निजी क्षेत्रलाई दिइए पनि जताततै फोहोर थन्किने समस्या छ । लामखुट्टे नियन्त्रणका लागि महानगरले औषधि छर्के पनि प्रभावकारी बनेको छैन । खुला ढलले जताततै दुर्गन्ध फैलिएको छ । वीरगन्ज मधेसकै शिक्षा हब हुनुपर्नेमा यहाँको पठनपाठन खस्किँदो छ । हामी शिक्षा र स्वास्थ्यमा सुधार ल्याउँछौं । महानगरको बढ्दो करलाई कम गर्छौं । करको दर हैन, दायरा बढाउँछौं । विजयी भएको पहिलो आर्थिक वर्षमै नयाँ ठाउँमा व्यवस्थित ट्रान्सपोर्ट क्षेत्र निर्माण गर्छौं । युवाको योग्यताअनुसार महानगर आफैं ग्यारेन्टी बसेर बैंकसँग ऋण उपलब्ध गराउनेछौं । जति राजस्व यहाँबाट संकलन गरी केन्द्रमा जान्छ, त्यसको तुलनामा यहाँ विकासका लागि न्यून रकम आउने गरेको छ । गरिबीको रेखामुनि रहेका महिलालाई ग्यास चुलो वितरण गर्नेछौं ।
गिरीश गिरी, राप्रपा
यो महानगरको सेवामा आफूलाई समर्पण गरेका पुर्खाहरूको सपना पूरा गर्न म चुनावी मैदानमा छु । मेरो बुबाले जुन कदम/काम उठाउनुभयो, त्यो जहाँको त्यहीं रोकिएको छ । १८ वर्ष अगाडि बीपी उद्यानको जग्गा तत्कालीन उपमहानगरको नाममा आएको थियो, त्यो अलपत्र छ । आधुनिक पार्क निर्माण गरी रैथाने इमली, जामुन जस्ता बिरुवा लगाउने योजना छ । शैक्षिक संस्था शिथिल भएका छन् । म जुन अवस्थामा त्रिजुद्धमा पढ्थें, त्यही अवस्थामा फर्काउँछु । सरकारी नारायणी अस्पताललाई पुरानै अवस्थामा फर्काउने योजना छ । मच्छरको समस्या नयाँ ढंगले समाधान गर्ने योजना छ । वीरगन्ज नेपालको समुन्नत सहर हुनुपर्ने हो । जसरी अमेरिकाको लागि न्युयोर्क हो, अस्ट्रेलियाका लागि सिड्नी, भारतका लागि मुम्बई भने जस्तै नेपालका लागि वीरगन्ज हो । वीरगन्जको जे हक अधिकार हो म त्यो दिलाउन चाहन्छु । वीरगन्ज विश्वसँग मिलेर अगाडि हिँड्नुपर्छ ।
