सिन्धुपाल्चोक — सिन्धुको जिल्लाभरको तीन नगर र नौ गापाभर बागी उम्मेद्वारी दिएका अधिकाशं उम्मेद्वारले माथिल्लो तहको दबाबमा मनोनयन फिर्ता लिएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट विद्रोही उठेका निर्वतमान मेयर अमानसिं तामाङले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेद्वारी फिर्ता लिएको घोषणा गरे ।
बलेफी गाउँपालिकाको अध्यक्ष पदमा बागी उम्मेद्वारी दिएका कांग्रेसका पुराना नेता विरबहादुर थापा (भिमशेन्)ले उम्मेद्वारी फिर्ता लिए । गाउँपालिका र वडामा कृपा पात्र मात्रै उम्मेद्वार भएपछि त्यस प्रवृत्तिकै विरोधमा उम्मेद्वारी दर्ता गरेको बताएका थिए । तामाङले माओवादी केन्द्रबाट चौतारा साँगाचोकगढी नगरमै अघिल्लो स्थानीय चुनावमा भारी मतले मेयर जितेका थिए ।
चौतारा साँगाचोकगढी नगरमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन गरिएको छ । जसमा माओवादी केन्द्रबाट केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज कृष्ण सापकोटा देशबन्धु मेयरमा र एकीकृत समाजवादीबाट सिता थापा उपमेयरमा छन् ।
त्यसैगरी हेलम्बु गाउँपालिकाको अध्यक्ष पदमा नछोड्ने दाबी गर्दैआएका बागी उम्मेद्वार कांग्रेसका नेता जिम्मी लामाले अन्तिममा विद्रोही उम्मेद्वारी फिर्ता लिएका छन् । नेकपा एमालेबाट सुनकोशी गाउँपालिकाको उपप्रमुखमा उम्मेद्वारी दिएका ज्ञानबहादुर भण्डारीले उम्मेद्वारी फिर्ता लिएको एमालेका जिल्ला अध्यक्ष कमल नेपालले बताए । ‘सबै तहमा छलफल र सहमतिपछि भण्डारीले उम्मेद्वारी फिर्ता लिएका छन्, अन्यत्र बागी थिएनन्,’ उनले भने ।
वैशाख ३० हुने निर्वाचनको लागि स्वतन्त्रसहित विभिन्न दलका गरी दुई हजार एक सय १४ उम्मेद्वारले भव्य रौनकासाथ मनोनयन दर्ता गरेका थिए । जसमध्ये बलेफी गाउँपालिका अध्यक्षमा सबैभन्दा बढी १४ जनाको उम्मेद्वारी परेको छ, जुगल र इन्द्रावती गाउँपालिका अध्यक्षमा पाँच /पाँच जनाले उम्मेद्वारी गराएका छन् ।
कांग्रेस जिल्ला सभापति जंगबहादुर लामाले बाह्रबिसे नगरको एक उपमेयरबाहेक सबैतिर बागी उम्मेद्वारी फिर्ता भएको दाबी गरे । ‘अब जिल्लामा बागी उम्मेद्वार रहेनन्, हेलम्बु र बलेफी सबै तिरकाले फिर्ता लिए,’ उनले भने । त्यसैगरी माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले चौतारा साँगाचोकगढी नगरमा भएको बागी उम्मेद्वार तामाङले फिर्ता लिएको बताए । ‘एकअर्कालाई सघाउने प्रतिबद्धतासाथ उम्मेद्वारी फिर्ता भएको छ,’ उनले भने ।
