धनकुटामा पाँच प्रमुखसहित ३६ उम्मेदवारी फिर्ता

वैशाख १६, २०७९

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा जिल्लाका विभिन्न ६ पालिकाका ३६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस क्रममा दुई नगरपालिकाका दुई प्रमुख र दुई गाउँपालिकाका तीन अध्यक्षले उम्मेदवारीबाट नाम फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नाम फिर्ता लिनेमा धनकुटा नगरपालिकामा जनता समाजवादी पार्टीबाट मनोनयन दर्ता गरेका गोपाल लिम्बू छन् । यस्तै, पाख्रिबास नगरपालिकाबाट नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा उम्मेद्वारी दिने गोपाल बराइली छन् । यसैगरी, धनकुटा नगरपालिकाबाट उपप्रमुखको उम्मेद्वार सरमाया राई र पाख्रिबास नगरपालिकामा उपप्रमुखको उम्मेद्वारी दिएकी सावित्रा घिमिरेले पनि नाम फिर्ता लिएका छन् । राई जनता समाजवादी र घिमिरे नेकपा समाजवादीबाट उम्मेद्वार मनोनयन दर्ता गरेका थिए ।

सहिदभूमी गाउँपालिकामा स्वतन्त्र अध्यक्षको उम्मेद्वारी दिएका भरतसिं राई, साँगुरीगढी गाउँपालिकामा नेकपा समाजवादीका उम्मेद्वार अर्पणा सुब्बा, स्वतन्त्र अध्यक्ष उम्मेद्वार जगतबहादुर राईले पनि नाम फिर्ता लिए । सहिदभूमि गाउँपालिकामा जनता समाजवादी पार्टीबाट उपाध्यक्षको मनोनयन दर्ता गरेका चकेन्द्र राई, साँगुरीगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षको उम्मेद्वार बनेका राजकुमार लिम्बुले पनि नाम फिर्ता लिएको निर्वाचन कार्यालयका सुूचना अधिकारी सुरज श्रेष्ठले बताए । अन्य १७ जना वडाध्यक्ष र बाँकी वडा सदस्यले नाम फिर्ता लिएको उनले श्रेष्ठले जानकारी दिए । अधिकांशले उम्मेद्वार हुन इच्छा नलागेकोले फिर्ता लिएको जनाएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully