राजापुरमा बागी प्रमुख र उपप्रमुखले उम्मेदवारी फिर्ता लिए

वैशाख १६, २०७९

कमल पन्थी

बर्दिया — स्थानीय निर्वाचनका लागि कांग्रेसका बागी उम्मेदवार टंकप्रसाद जैसी र निता जैसी अधिकारीले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजापुर नगरपालिकाबाट उनीहरु स्वतन्त्रमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका थिए ।

यस नगरपालिकाबाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मधुवन नगरपालिकाबाट प्रमुख पदका उम्मेदवार दुर्गाबहादुर रिमाल र उपप्रमुखमा पुष्पादेवी शाहीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए । प्रमुख र उपप्रमुखका उम्मेदवार एकीकृत समाजवादी पार्टीका हुन् । बारबर्दिया नगरपालिकामा स्वतन्त्रमा उपप्रमुखका उम्मेदवार मेनेकाकुमारी चौधरी र संगीता भटटराईले उम्मेदवारी फिर्ता लिएका छन् । 

गुलरियाबाट भने प्रमुख र उपप्रमुखमा उम्मेदवारी फिर्ता भएको छैन । स्वतन्त्रबाट एमालेका बागी वडा नम्बर ५ अध्यक्षका उम्मेदवार नारायणप्रसाद गौतम र माओवादी केन्द्रका बागी उम्मेदवार रामनारायण केशरीले स्वतन्त्रबाट उम्मेदवारी फिर्ता लिएका छन् ।  

स्थानीय तह निर्वाचन २०७९

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully