हेटौंडामा ४४ जनाद्वारा उम्मेदवारी फिर्ता

वैशाख १६, २०७९

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरको विभिन्न पदमा उम्मेदवारी दिएका ४४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

तीनजना मेयर र दुईजना उपमेयरसहित ४४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । मेयरमा जसपाकी दीपा लामा, नेपालका लागि नेपाली अभियानका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार सुरक्षा रिजालले मेयरबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उपमेयरमा नेकपा समाजवादीकी मखकुमारी तिमल्सिना र जसपाका हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुसँगै वडा अध्यक्ष र सदस्यमा गरी ४४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

नेपाली कांग्रेस (बीपी) पार्टीबाट मनहरी गाउँपालिका उम्मेदवार बनेको शंकर न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसले टिकट वितरणमा विभेद गरेको भन्दै उनले उम्मेदवारी दिएका थिए । न्यौपाने अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा उम्मेदवार थिए । उनी थोरै मतान्तरले पराजित भएका थिए । उनीसँगै नेपाली कांग्रेस (बीपी) समूहबाट उपमेयर बनेकी जानुकी लामाले भने उम्मेदवारी फिर्ता लिइनन् ।

स्थानीय तह निर्वाचन २०७९

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully