नेपालगन्ज — कोहलपुरको मेयर पदमा बागी उम्मेदवारी दिएका कांग्रेसका बलराम शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले बागी उम्मेदवारी फिर्ता लिएका हुन् ।
पार्टीको निर्णय आफूले मानेर जाने बताउँदै प्रदेश क्षेत्र नम्बर १ ख का सभापतिसमेत रहेका शर्माले सबै कार्यकर्ता तथा नेताहरुलाई कांग्रेसको पक्षमा एक हुन आह्वान गरे ।
शर्माले बागी उम्मेदवारी फिर्ता लिएसँगै पार्टी कार्यालयमा लगाइएको ताला समेत खुलेको छ । शर्माको बागी उम्मेदवारी फिर्ता पछि कार्यकर्ताहरुमा उत्साह देखिएको छ । उत्साहित कांग्रेसी कार्यकर्ताहरुले मोटरसाइकल र्याली निकालेर नगर परिक्रमा गरेका थिए ।
बागी उम्मेदवारी फिर्ता गर्नेक्रमा निर्वाचन अधिकृतको कार्यालयमा शर्मासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय सञ्जयकुमार गौतम, मैकुलाल वाल्मिकी, लुम्बिनी प्रदेश सदस्यद्वय टेकनारायण भुसाल, अञ्जना पाण्डे, जिल्ला सभापति नारायणप्रसाद गौडेल, क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि तथा प्रभावशाली नेता भानुभक्त भट्टराई लगायतको उपस्थिति रहेको नगर सचिव बालकुमार शर्माले जानकारी दिए ।
