पोखरा — पोखरा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले मनोनयन फिर्ता लिएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका दुबैले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन फिर्ता लिएका हुन् ।
सापकोटा कांग्रेस कास्कीका पूर्व सचिव हुन् भने तिवारी पूर्व कोषाध्यक्ष हुन् । अर्का बागी विमलबहादुर कार्कीले भने उम्मेदवारी फिर्ता लिएनन् । सापकोटाले केही दिन सांकेतिक विद्रोह गरे पनि आफ्नो कारणले राष्ट्रको स्थिति असहज हुने देखेर फिर्ता लिएको बताए । तिवारीले कांग्रेसको इमान्दार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर फिर्ता लिएको बताए । उनले अब गठबन्धनका उम्मेदवारलाई मत दिनु आफ्नो दायित्व भएको बताए ।
