लमजुङमा पालिका प्रमुखमा महिला उम्मेदवार एक जना मात्रै

उपप्रमुखमा भने १९ जनाको उम्मेदवारी

वैशाख १६, २०७९

आश गुरुङ

लमजुङ — लमजुङका ८ वटा स्थानीय तहमध्ये ठूला राजनीतिक दलले पालिका प्रमुखमा महिलालाई उम्मेदवार बनाएका छैनन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षबाहिर रहेको मंगोल नेश्नल अर्गनाइजेशनले एउटा स्थानीय तहको प्रमुखमा भने महिलालाई उम्मेदवार बनाएको छ । उसले बेंसीसहर नगरपालिका प्रमुखमा कुलुकुमारी गुरुङलाई प्रमुख पदमा अघि सारेको छ ।

सत्ता गठबन्धनमा रहेको कांग्रेस, माओवादी र नेकपा एसले आधिकारिक रुपमा उपप्रमुखमा समेत महिलालाई उम्मेदवार बनाएको छैन । केही महिला उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दिएका छन् । राइनास नगरपालिका उपप्रमुखमा कांग्रेसकी विष्णुमाया धितालले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकी छन् । उनले माओवादी केन्द्रलाई नभइ आफूलाई पार्टीले टिकट दिएको र उम्मेदवारी दर्ता गरेको बताएकी छन् ।

मध्यनेपाल नगरपालिका उपप्रमुखमा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार उपेन्द्र अधिकारीविरुद्ध नेकपा एसका सोविता नेपालीले बागी उम्मेदवारी दिएका छन् । दोर्दी गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला कुावरले गठबन्धनबाट कांग्रेस उम्मेदवार विच्छबहादुर घलेविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

एमालेले प्रमुख पुरुषलाई राख्दा ८ वटै पालिकामा महिलालाई उपप्रमुख र उपाध्यक्षमा उम्मेदवार बनाएको छ । गठबन्धनले आधिकारिक रुपमा उपप्रमुखमा समेत महिलालाई अघि बढाएको छैन । एमालेको ८ सहित गरी १९ जना महिलाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेले बेंसीसहर नगरपालिकामा पदमा गुरुङ, सुन्दरबजार नगरपालिकामा भवानी केसी, राइनास नगरपालिकामा शोभा पन्थी चिलुवाल र मध्यनेपाल नगरपालिकामा शोभा गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । मर्स्याङ्दी गाउँपालिकामा जुनामाया थापा, दोर्दी गाउँपालिकामा उषा गुरुङ, क्व्होलासोंथर गाउँपालिकामा गमीमाया गुरुङ र दूधपोखरी गाउँपालिकामा कृष्णा गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

राप्रपाले बेंसीसहरको उपप्रमुखमा मेनुका कार्की, सुन्दरबजार उपप्रमुखमा पार्वती वाग्ले, राइनास उपप्रमुखमा सपना शाही, मध्यनेपाल उपप्रमुखमा शोभा रानामगर र दोर्दी उपाध्यक्षमा नन्दीमाया गुरुङलाई उम्मेदवार बनाएको छ ।

मंगोल नेश्नल अर्गनाइजेशनले बेंसीसहरको प्रमुखमा कुलुकुमारी गुरुङ, उपप्रमुखमा पदममाया गुरुङ र सुन्दरबजार नगरपालिका उपप्रमुखमा बालकुमारी कामीलाई उम्मेदवार बनाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लमजुङमा प्रमुख र उपप्रमुख साथै अध्यक्ष र उपाध्यक्षमा गरी ८४ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully