मलाई जुन विरासतको बलमा मेयर बन्न खोजिएको भनिएको छ, त्यो केवल आरोपमात्रै हो । मैले त्यो बेलादेखि अहिलेसम्मको जीवन नै महिलाको हक, अधिकार र सशक्तिकरणका लागि निरन्तररुपमा काम गरेर बिताएको छु ।
काठमाडौँ — वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरेर प्रचारप्रसार तीव्र बनाएका छन्; आ-आफ्नो चुनावी घोषणापत्र लिएर मतदातामाझ गइरहेका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा तालमेल गरेर उम्मेदवारी दिएको छ ।
नेकपा एमालेले पनि ठाउँअनुसार एकल र विभिन्न दलसँग तालमेल गरेर उम्मेदवारी दिएको छ । मुलुकको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको मेयरमा दल र स्वतन्त्रसमेत गरी ५६ जना प्रत्याशी छन् ।
काठमाडौंको मेयरमा सत्ता गठबन्धनले नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ । नेविसंघको विद्यार्थी राजनीतिमा सक्रिय भूमिका खेलेकी सिंह नेता प्रकाशमान सिंहकी श्रीमती हुन् । श्रीमान् मूलधारको राजनीतिमा हुँदा सहयोगी बनेकी सिंह अहिले आफैँ महानगरपालिकाको मेयरमा प्रत्यासी छिन् । सिंहको उम्मेदवारी, एजेन्डा र योजनाहरूबारे ई-कान्तिपुरका प्रकाश धौलाकोटीले गरेको कुराकानी:
डेढ महिनाअघि तपाईंले एउटा ट्विट गर्नुभएको थियो, ‘...काठमाडौंको मेयर महिला हुनुपर्छ’ भनेर । त्यतिबेला सम्म तपाईंको दाबेदारीबारे खासै चर्चा थिएन । खासमा तपाईंले काठमाडौंको मेयर बन्छु भनेर कहिलेदेखि सोच्नुभएको थियो ?
म काठमाडौंबासी हो, मैले काठमाडौंलाई नजिकबाट हेरिरहेकै छु । काठमाडौंको मेयरको रुपमा पीएल सिंह मेयर हुँदाखेरि अलिकति काम भएको हो कि भन्ने लाग्छ । उहाँको पालामा वास्तवमा काठमाडौंमा धेरै सुधार भयो । त्योभन्दा अगाडि मठमन्दिरहरूमा पनि पिपलको रुख र घाँसको रुखबाहेक केही पनि थिएन ।
उहाँको पालामा चाँहि धेरै सुधार भयो । त्यसपछि यत्रो २०-२५ वर्ष भइसक्यो, काठमाडौं त जस्ताको त्यस्तै छ । घरबाट निस्किन पाएको छैन, फोहोरको थुप्रोसँग ठोक्किनुपर्छ । सहरकै सडकमा खाल्डाखुल्डी, ट्राफिक अस्तव्यस्त । यति लामो समयदेखि काठमाडौंमा धेरै सुधार भएन । काठमाडौंमा पुरुषहरू निरन्तर मेयर हुनुभयो । अहिले महिला अधिकारको कुरा छ, महिलाहरू सक्षम भइसकेका छन् । समय धेरै परिवर्तन भइसकेको छ ।
त्यसकारण म एउटा महिला भएको कारणले गर्दा मैले चाहिँ काठमाडौंमा महिला मेयर आयो भने केही फेरिन्छ कि भनेर ट्विट गरेको थिएँ । तर, त्यो मेरो लागि वा म नै हुनुपर्छ भनेर चाहिँ गरेको थिइनँ । मैले त्यो दिनसम्म पनि म मेयरको उम्मेदवार हुन्छु भनेर सोचेको थिइनँ ।
तर, तपाईंको त्यही ट्विटकै आधारमा काठमाडौं महिला संघले तपाईंलाई मेयर उम्मेदवारको रुपमा अघि सार्यो नि ?
मैले त्यो ट्वीट गरेको कुरा महिला दिदीबहिनीहरूले हेर्नुभयो कि भएन ? मलाई थाहा छैन । सायद उहाँहरू ट्विटमा मसँग जोडिनुभएको नै छैन । तर, मलाई काठमाडौं महिला संघले आफ्नो मासिक बैठकबाट मलाई मेयरमा अघि सार्ने निर्णय गर्नुभएछ । म सल्लाहकार हुँ, तर नियमित बैठकमा जादिनँ । त्यो दिन पनि गएकी थिइनँ । त्यो बैठकमा चाहिँ महिला दिदीबहिनीहरूले कुरा निकाल्नुभएछ, कि हामी महिलाहरू पनि यति सक्षम भइसक्यौँ । समय परिवर्तन भइसक्यो । त्यसैले अब पनि हामी आरक्षणमा मात्रै सीमित रहनुहुन्नँ, हामीले पनि मेयरमा, वडाध्यक्षमा उम्मेदवारी दिनुपर्छ भनेर ।
बैठकमा त्यो आवाज उठेपछि काठमाडौंको मेयरमा कसलाई उठाउने त ? भन्ने कुरा उठेपछि बैठकले मलाई मेयर बनाउने प्रस्ताव पारित गरेर त्यो निर्णय पार्टीलाई पनि बुझाइदिनुभएछ । यो कुरा मेरो प्रभावमा, योजनामा आएको होइन । उहाँहरूले स्वत:स्फूर्तरुपमा त्यो निर्णय गर्नुभएको रहेछ । मैले त पछि सोधेँ पनि, तपाईंहरूले किन यस्तो निर्णय गर्नुभयो ? कसले त्यस्तो गर्नु भन्यो भनेर । त्यो निर्णय जिल्लामा समेत बुझाइसकेपछि उहाँहरूले सर्वसम्मतरुपमा तपाईं अघि बढ्नुपर्छ, तपाईंले नाइ भन्न पाउनुहुन्नँ भनेर उहाँहरू मलाई भेट्न घरमा आउनुभएको थियो ।
त्यो बेला म त अलमल्ल परेकी थिएँ, मैले उहाँहरूलाई त्यो बेला केही पनि जवाफ दिइनँ । किनभने हाम्रो समाजमा नेताको परिवारलाई कति गाह्रो छ भने- एउटा इन्जिनियरको श्रीमती इन्जिनियर भयो भने हामी आहा कति राम्रो जोडी भन्छौँ । डाक्टरको श्रीमान-श्रीमती भयो भने ओहो कस्तो राम्रो जोडी भन्ने हुन्छ । तर, नेताको श्रीमान्-श्रीमती राजनीतिमा भयो भने त्यो त मन पराइँदैन । त्यसैले पनि म वास्तवमा कुनै पद नलिइकन पार्टी नछाडिकन लागिरहेको थिएँ ।
मैले यो देशमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा सक्रिय भूमिका खेलेको छु । प्रजातन्त्र स्थापनाकै लागि म हनुमानढोकाको चिसो छिँडीमा पटक-पटक पुगेको छु । मेरो नसा नसामा राजनीति छ । मैले राजनीति छाडेको थिइनँ । पद नलिएको मात्रै हो । नेताको श्रीमतीले पद लिएको कसैले मन नपराउने भएपछि मैले पद नलिने तर काम गर्ने, ग्रासरुटमा महिला दिदीबहिनीहरूका दुःख सुखमा साथ दिने काम चाहिँ गरिरहेको थिएँ ।
कांग्रेसबाट पूर्वमन्त्रीहरूसहित धेरै आकांक्षीहरू थिए । तर, पार्टीले तपाईंलाई उम्मेदवार बनायो । पार्टीमा नेता कार्यकर्ताहरूले राजनीतिमै नभएको मान्छेलाई ल्याएर गणेशमान सिंहको विरासतको आधारमा उम्मेदवार बनाइयो भन्ने गुनासो गरेको पनि सुनिन्छ । विरासतकै बलमा तपाईंले मेयर बन्ने रुचि राख्नुभएको हो ?
म विरासतबाट राजनीतिमा आएको होइन । म त्यसलाई कति पनि मान्दिनँ । मैले कक्षा ९ मा पढ्दाखेरि नै नेपाली कांग्रेसको सदस्यता लिएको हुँ । ०३६ सालको जनमत संग्रहको बेलामा मैले गोरखामा जिल्लाकै नेतृत्व गरेको महिला हुँ । त्यो बेला १७ वर्षकै उमेरमा महिला बहुदल प्रचारप्रसार समितिको नेतृत्व गरेको महिला पनि हुँ म । मैले नेपाल विद्यार्थी संघमा तीन वर्षसम्म इकाइ सभापति भएर काम गरेँ । शंकरदेव क्याम्पसमा स्ववियु चुनावमा कोषाध्यक्ष निर्वाचित भएर काम गरेर आएको हुँ ।
मैले मेरो युवा अवस्था सम्पूर्णरुपमा यो देशको लागि, प्रजातन्त्र स्थापनाको लागि, नेपाली कांग्रेसको लागि बिताएर आएको छु, मेरो हकमा त विरासतको कुरा कसरी गर्न मिल्छ र ? मेरो उम्मेदवारीलाई विरासतसँग जोड्ने कुरा सरासर गलत छ । मैले विरासतकै आधारमा टिकट पाएको होइन । मैले ०४२ सालमा विवाह गरेर आएको घर पूर्ण राजनीतिक घर थियो । मेरा ससुरा गणेशमान सिंह, सासुआमा मंगलादेवी सिंह‚ जसले आफ्नो सम्पूर्ण जीवन यो देशको प्रजातन्त्र स्थापनाको खर्चिनुभयो । मेरो श्रीमान् पनि राजनीतिमै हुनुहुन्थ्यो । मैले त्यो बेला यो देशका रैतीलाई नागरिक बनाउने परिवारको सदस्य बन्ने मौका पाएँ । मेरो जेठाजु पीएल सिंह पनि त्यो बेला राजनीतिमै हुनुहुन्थ्यो ।
त्यसैले मैले त्यो बेला राजनीतिमा आफूलाई अगाडि ल्याइनँ । तर, मैले मेरो भूमिकालाई कहिल्यै साँघुरो बनाएको छैन । मैले ०४६ सालको आन्दोलनमा घरबाटै सक्रिय भूमिका खेलेँ । त्यसपछि दलमाथिको प्रतिबन्ध खुलेपछि नेपाली महिला संघले गर्ने हरेक गतिविधिमा म संलग्न छु । महिला संघले महिला सशक्तिकरण, कानुनी शिक्षा गर्ने, प्रौढ शिक्षा चलाउने गतिविधि गर्थ्यो । त्यो बेला मैले महिला संघमार्फत स्वास्थ्य शिविर सञ्चालन गर्ने शाखाको प्रमुख भएर निरन्तर स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने काम गरेँ । जब मंगलादेवी सिंह स्वर्गीय हुनुभयो, त्यसपछि मैले नेपाल महिला संघको प्रमुख सल्लाहकारको रुपमा निरन्तर काम गरिरहेको छु ।
अहिले मलाई जुन विरासतको बलमा मेयर बन्न खोजिएको भनिएको छ, यो केवल आरोपमात्रै हो । मैले त्यो बेलादेखि अहिलेसम्मको जीवन नै महिलाको हक, अधिकार र सशक्तिकरणका लागि निरन्तर रुपमा काम गरेर बिताएको छु । मैले सामाजिक रुपमा त्यतिकै सक्रियता देखाएको छु । म घरमा गृहिणीको रुपमा मात्रै बसेको महिला होइन नि ! मैले भूकम्पको बेला होस् वा कोभिडको बेला जहिले पनि सक्रिय भएर लागेर काम गरेको छु । मैले निरन्तर रुपमा कुनै न कुनै रुपमा समाजसँगै जोडिएर बसेको महिला हुँ । मैले त अहिलेसम्म पद नलिएको हो । अहिले पार्टीले महिलाहरू सशक्त भएको बेला, मेजोरिटी भएको बेला, पार्टीले मेरो लगानी, त्यागलाई सम्बोधन गरेर उम्मेदवार बनाएको हो । मलाई प्रकाशमानले मेयर बनाउन खोजेर म उम्मेदवार भएको होइन । जब मलाई महिला संघले प्रस्ताव गर्यो, नेविसंघ र तरुण दलले पनि त्यो प्रस्ताव गर्यो ।
त्यसपछि महानगर समितिले मेरो बारेमा सोच्नुपर्ने अवस्था भयो । यहाँ जति पनि आकांक्षीहरू हुनुहुन्थ्यो । उहाँहरू सबै सक्षम हुनुहुन्थ्यो । पार्टीको केन्द्रमा अहिले सबैजसो नेताहरू मेरो समकालिन हुनुहुन्छ । उहाँहरूसँगै आन्दोलनमा हिँडेकी महिला हुँ म पनि । आन्दोलनमा उहाँहरूसँगै कुटाइ खाएको छु, जेल परेको छु । र जब मेरो नाम केन्द्रमा पुगेपछि उहाँहरूले बल्ल यसरी सिर्जना सिंहको नाम आएछ, काठमाडौंको मेयरका लागि ऊ योग्य हुन्छ, महिला पनि हो । उसको पारिवारिक पृष्ठभूमि छ, काम पनि गर्न सक्छ भनेर नेताहरूले मलाई उपयुक्त हुन्छ भनेर सर्वसम्मतरुपमा निर्णय गरेपछि म उम्मेदवार भएको हुँ । विरासतको बल कत्ति पनि छैन । त्यो भन्नु गलत हो ।
तपाईंले पीएल सिंहपछि काठमाडौंमा खासै काम हुन सकेन भन्नुभयो । तपाईं मेयर बन्नुभयो भने चाहिँ के–के गर्नुहुन्छ ?
म काठमाडौंमा पढ्न बसेको ४५ वर्ष भयो, बिहे भएको पनि ३६ वर्ष भइसक्यो । मेरो त सम्पूर्ण जीवन नै काठमाडौंमै बितेको छ । म काठमाडौंको कोर सिटीको नेवार परिवारको बुहारी हुँ । मलाई यहाँको रितिथिति, संस्कृति, बाजागाजा, भेषभूषा, गुठी, जात्रा सबैसँग नजिकबाट भिजेकी छु । काठमाडौंमा नेवारहरूले जे संस्कृति गर्छ, त्यो हाम्रो घरमा पनि हुन्छ । सबै चाडपर्व मनाउँछौं । म यहाँको संस्कृतिसँग मात्रै होइन, यहाँको दुःखकष्टसँग पनि भिजेकी छु । मलाई काठमाडौंको सबै दुःखसुख थाहा छ । काठमाडौं भनेको नेवारको मात्रै होइन, यहाँ त ७७ वटै जिल्लाबाट आएका मानिसहरुको पीडासँग पनि म त्यतिकै परिचित छु । म मेयर भएपनि मेरो प्रमुख दायित्व उहाँहरूको जीवनलाई सहज र सरल गरिदिने हो भन्ने लाग्छ । काठमाडौंको जनतालाई सुरक्षा र सुशासन दिने मेरो प्रमुख दायित्व हुन्छ, यो म गरेर देखाउँछु ।
मैले अहिलेसम्म एउटा ठूलो घर सम्हालेको छु । घर कसरी चल्छ त्यो मलाई राम्रोसँग थाहा छ । महानगरपालिका म एउटा राम्रो घरको रुपमा चलाउँछु । सबैभन्दा पहिले त त्यहाँ नागरिकले पाउने सेवा सहज र सर्वसुलभ पाउनुपर्छ । म महानगरलाई भ्रष्टाचारमुक्त बनाउँछु । यहाँका जनताले छिटोछरितो रुपमा सेवा पाउने वातावरण बनाउँछु । घरभित्र सफा भएन भने बाहिर जतिसुकै टिलिक्क भए पनि केही पनि हुँदैन । ठूलो कुरा गरेर मात्रै हुँदैन नि, घर नै दुर्गन्धित भयो भने त्यसले बाहिर के राम्रो गर्न सक्छ ? नगरपालिकामा सुशासन कायम गर्ने मेरो यो प्रमुख दायित्व हुन्छ ।
म महानगरपालिकालाई प्रविधिमैत्री बनाउन चाहन्छु । कतिपय सेवाका लागि त सर्वसाधारणले महानगर आउन नपरोस्, घरबाटै त्यस्तो सेवा पाउने वातावरण बनाउनुपर्यो ।
अर्को कुरा, काठमाडौंको फोहोरमैलो व्यवस्थापन मुख्य समस्या छ । यो २५ वर्ष अगाडि पनि काठमाडौंमा यस्तै गरी फोहोर थुप्रिएको हुन्थ्यो, अहिले पनि त्यस्तै अवस्था छ । म त्यो फोहोर व्यवस्थापनमा काम गर्न चाहन्छु । यसलाई घरबाटै व्यवस्थापन गर्न सकिन्छ । म फोहोर व्यवस्थापनका लागि ‘जेरो वेस्ट म्यानेजमेन्ट’ को अवधारणालाई लागू गर्छु । सडकको खाल्डाखुल्डी पुर्ने काम महानगरपालिकाको पनि हुन्छ, त्यो गर्छु । सडक विभागको काम हो भनेर छाड्नुभएन ।
ट्राफिक व्यवस्थापन, साइकल लेन व्यवस्थापनमा म विज्ञहरूसँग समन्वय गरेर काम गर्छु । फुटपाथमा समस्या छ, त्यो अपाङ्गमैत्री छैन, व्यवस्थित छैन । फुटपाथलाई महानगरको संस्कृतिसँग जोडेर व्यवस्थापन गर्छु । म मेयर भए भने म महानगरपालिकावासीको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षाको जिम्मेवारी लिन्छु । महिलाहरूको सशक्तीकरण, रोजगारी र उद्यमी बनाउने कुरामा मेरो जोड हुन्छ । म एउटा महिला भएकाले म महिलाहरूका लागि विशेष काम गर्न चाहन्छु । महिलाले जति अधिकार पाउनुपर्ने हो, त्यति अहिले पनि पाएको अवस्था छैन । युवाको हकमा त्यस्तै समस्या छ, युवाहरूलाई क्षमता विकास गर्नुपर्ने, रोजगार र आर्थिक विकाससँग जोड्नुपर्ने अवस्था छ, विदेश जान बाध्य युवाहरूलाई कसरी स्वदेशमै रोक्ने ? त्यसका लागि योजनाबद्ध रुपमा म काम गर्छु । युवालाई सीप सिकाएर हामी यही रोजगार बनाउन सक्छौँ ।
काठमाडौं त देशकै ठूलो सहर पनि हो । चुनावमा उम्मेदवारहरूले त ठूलठूला सहरी पूर्वाधारको सपना बाँड्ने गरेको पाइन्छ । तपाईंले चाहिँ स–साना कुराहरुमा धेरै जोड दिनुभएको छ; किन ?
हाम्रो घर नै फोहोर छ भने ठूलठुला कुरा गरेर मात्रै त के हुन्छ र ? हाम्रो घर, काठमाडौं यस्तो अस्तव्यस्त छ कि काठमाडौंबाहिरबाट काठमाडौं आइपुग्दा कहाँ अनकन्टार ठाउँमा पुगेको जस्तो हुन्छ । काठमाडौं त विश्व सम्पदा सूचीमा परेको सहर हो । हामीले यहाँको सभ्यतालाई जोगाएर राख्न सकेनौँ, कति देशहरू मरुभूमि हुँदा हामी सभ्यता र सम्पदाले युक्त भनेर परिचय बनाएका छौँ । अहिले यो विरुप भएको छ । पहिले यो सहरलाई सफा गरौँ, सफा राखौँ । मेरो प्रमुख र पहिलो दायित्व यो हो । तर, ठूला सहरी पूर्वाधार नै नचाहिने भन्ने त हुँदैन ।
यहाँ त्यसका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गरेर काम गर्नुपर्ने अवस्था छ नि । त्यो पनि गर्ने हो । तर, पहिले त घर सफा गर्नुपर्यो नि । फेरि काठमाडौं नयाँ सहर होइन; यो त बनिसकेको सहर हो । आधारभूत सुविधा भइसकेको सहर हो । यो बनिसकेको सहर हो । त्यसैले यहाँ पूर्वाधार थप्ने भन्दा पनि यसलाई व्यवस्थित गर्ने काम अहिले जरुरी छ ।
चुनावको बेला सबैले जनताले भने जसरी गर्छु भन्छन् । तर, काम गर्न सक्दैनन् । एउटा राजनीतिक पार्टीबाट चुनाव जितेपछि पार्टीप्रति बढी उत्तरदायी बन्नुपर्दा धेरैले काम गर्न नसकेको देखिन्छ । यसमा तपाईं के भन्नुहुन्छ ?
हामीले दलमात्रै भनेर हुँदैन । कुन राजनीतिक दल हो ? कस्तो दल हो ? भनेर हेर्नुपर्यो । अहिले म नेपाली कांग्रेसबाट उम्मेदवार छु । नेपाली कांग्रेस भनेको यो देशमा प्रजातन्त्र ल्याउनका लागि ठूला ठूला आन्दोलन गरेर आएको पार्टी हो । सबै दलप्रति विश्वास गर्न सकिन्छ कि सकिँदैन म भन्न सक्दिनँ । तर कांग्रेसप्रति धेरै जनताको भरोसा छ । कांग्रेसले अहिलेसम्म जनताको अधिकार स्थापित गर्ने काम गर्दै आएको छ । ठूल्ठूला नारा लगाउन सजिलो छ तर एक महिना ठूलो कुरा गरेर मात्रै त केही हुँदैन । मलाई मेरो पार्टीले अवरोध पार्दैन ।
