कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
स्थानीय तह निर्वाचन

तनहुँका तीन पालिकामा मात्रै गठबन्धन

सम्झना रसाइली

तनहुँ — स्थानीय तह निर्वाचनका लागि तनहुँका १० पालिकामध्ये तीन वटा पालिकामा मात्रै सत्तारुढ दलहरूबीच गठबन्धन भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गरी निर्वाचनमा जाने भनिए पनि सिट भागबण्डा नमिल्दा तनहुँमा सबैले आ–आफ्नै हिसाबले उम्मेदवारी दर्ता गराएका थिए ।

तनहुँका तीन पालिकामा मात्रै गठबन्धन

सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ दलहरुले अन्य पालिकामा आ–आफ्नै हिसाबले उम्मेदवारी दर्ता गरे पनि तीन पालिकामा आंशिक गठबन्धन गरेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभत्त खनालले बताए ।

उनका अनुसार शुक्लागण्डकी नगरपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ भने भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

उनले भने, ‘यी पालिकामा पनि पालिका प्रमुख र उपप्रमुख पदमा मात्रै गठबन्धनबाट जाने सहमति भएको छ । जिल्लाले अन्य पालिका र वडातहमा पदको भागबण्डा लगाउन नसक्दा आ–आफ्नो हिसाबमा उम्मेदवारी दिएका हौं ।’ जिल्लाबाट गठबन्धनको टुंगो लगाउन नसकिएपछि केन्द्रको आदेश कुरेर बसेको कांग्रेसका सचिव खनालले बताए ।

गठबन्धन अनुसार शुक्लागण्डकीको प्रमुखमा कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुख माओवादी केन्द्रबाट खुम विकले उम्मेदवारी दर्ता गरेका छन् । भिमादको प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठ र उपप्रमुखमा कांग्रेसबाट मिलन आलेले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै, घिरिङको अध्यक्षमा कांग्रेसका गंगाराम कुमाल र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित : वैशाख १६, २०७९ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?