काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीले नेपाली कांग्रेसलाई नाम मात्रको ठूलो पार्टी भएको टिप्पणी गरेको छ । शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै लोसपाले यस्तो टिप्पणी गरेको हो ।
उक्त घोषणापत्रमा लोसपाले कांग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र लगायत प्रमुख पार्टीहरूमाथि समीक्षा एवं टिप्पणी गरिएको छ ।
यस क्रममा लोसपाले कांग्रेसलाई पहिले धेरै ठूलो र लोकतन्त्रको संघर्षमा अग्रपंक्तिमा रहेको तर हाल संकुचित र अनुदार बन्दै गएको पार्टीको रुपमा चित्रित गरेको छ ।
'बहुदलीयता पुन: प्राप्तीपछि सबैभन्दा लामो समयसम्म सत्ता संचालन गरेको समाजवादलाई अंगालेको राजनीतिक दल हो । परम्परागत रुपमा मध्यम धारको अगुवाइ गर्दै लोकतान्त्रिक समाजवादलाई अंगालेको राजनीतिक दल भए पनि कांग्रेसले राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, माओवादीको मुलधारमा प्रवेश र संविधानसभाको निर्वाचन आदि कार्यमा नेतृत्वदायी भूमिका खेलेकाले यसको प्रशंसा गरिनुपर्छ,' लोसपाको घोषणापत्रमा उल्लेख छ ।
तर कांग्रेस पछिल्लो समय अल्पसंख्यक, मधेसी, आदिवासी, जनजाति, मुस्लिम लगायत पछाडि पारिएका समुदायको विपक्षमा रहेको लोसपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तै नेपालका कम्युनिस्ट पार्टीहरू सत्तालोलुप राजनीतिक उद्यमी भएको लोसपाको आरोप छ । कम्युनिस्ट दलहरू राजनीतिक दल जस्तो देखिए पनि उनीहरू चरम अवसरवादी र असंवेदनशील बनेको लोसपाले आरोप लगाएको छ ।
साथै कम्युनिस्ट दलहरू विखण्डनकारी, सिद्धान्तहीन र बिचारशुन्य तथा पदलोलुप भएको लोसपाको आरोप छ ।
यस्तै जनता समाजवादी पार्टीमाथि लोसपाले जातीयता केन्द्रित र सत्तामुखी पार्टी भएको आरोप लगाएको छ । यस्तै जनता समाजवादी पार्टी संकीर्ण र मुद्दाविहीन बनेको उसको टिप्पणी छ ।
यस क्रममा लोसपाले जसपाका नेता उपेन्द्र यादवमाथि समेत टीप्पणी गरेको छ । जसपा मधेस आन्दोलनको जगमा उभिएको भए पनि अहिले उपेन्द्र यादवको व्यवहार अलोकतान्त्रिक रहेको लोसपाको टिप्पणी छ ।
यस्तै दल विभाजन सम्बन्धी अध्यादेशले यादवको व्यक्तिगत राजनीति जोगाइदिएको पनि लोसपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तै जसपाले मधेसी, जनजाति र अल्पसंख्यकको मुद्दा त्याग गरेको लोसपाको आरोप छ । साथै उक्त पार्टी जातीय मतको जोड घटाउमा लागेको लोसपाले जनाएको छ । यस क्रममा लोसपाले आफ्नो पार्टीका २० वटा प्रतिबद्धा समेत प्रस्तुत गरेको छ ।
