सोलुमा एक बागीको उम्मेदवारी फिर्ता

वैशाख १६, २०७९

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुमा एक जना स्वतन्त्र(बागी) उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेस सोलुखुम्बुका महाधिबेशन प्रतिनिधि जीवन गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन् ।

टिकट नपाएको भन्दै अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका गुरुङले निर्वाचन आयोगले तोकेको फिर्ता अवधिमा शुक्रबार उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आसन्न निर्वाचनमा कांग्रेसले अध्यक्षमा वीर बहादुर गुरुङ र उपाध्यक्षमा एकाकुमारी बस्नेतलाई उम्मेदवार बनाएको छ । यसअघि नेपाली कांग्रेसले बागी उम्मेदवार फिर्ता नलिने नेताहरु स्वत: पार्टीबाट निष्कासित हुने बेहोराको सूचना जारी गरेको थियो । यता कांग्रेस र माओवादीको संयुक्त गठबन्धन बनाएर चुनावी तालमेल गरिएको स्थान माप्यदूधकोशी गाउँपालिकामा भने कांग्रेसका स्वतन्त्र उम्मेदवार ढलबहादुर मगरले भने उम्मेद्वारी फिर्ता लिएनन् । तालमेलका क्रममा कांग्रेसलाई अध्यक्ष र माओवादी केन्द्रलाई उपाध्यक्ष दिनेगरि सहमति भएपछि कांग्रेस नेता मगरले असन्तुष्टि व्यक्त गर्दै बागी उम्मेद्वारी दिएका हुन् । 

स्थानीय तह निर्वाचन २०७९

भानुभक्त

Link copied successfully