मेयर-उपमेयरमा श्रीमान्-श्रीमती उम्मेदवार 

वैशाख १५, २०७९

कमल पन्थी

बर्दिया — राजापुरका एक दम्पतीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । राजापुर–३ चखखापुरका ५४ वर्षीय राममणि उपाध्याय र उनकी श्रीमती ४३ वर्षीया सम्झना उपाध्यायले प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेका छन् । 

०५४ सालदेखि ०५९ सालसम्म साविक राजापुर गाविसबाट राप्रपाबाट उपाध्यक्षमा  निर्वाचित उपाध्याय यसपालि नगरप्रमुख र श्रीमती उपप्रमुख पदका लागि उम्मेदवार बनेका हुन । ‘उम्मेदवारी दिन कोही पनि तयार नभएको होइन दर्जन बढी महिला उपप्रमुख पदका लागि तयार थिए । तर पार्टीका उच्चस्तरीय र तल्ला कार्यकर्ताको आग्रहमा हामीलाई उम्मेदवार बन्न आग्रह गरेपछि उक्त निर्णय गरेका हौँ,’ उनले बताए ।

उपप्रमुखकी उम्मेदवार सम्झनाले निर्वाचित भए महिला हिंसा, भ्रष्टाचार,महँगी र करछूटमा काम गर्ने बताइन् ।  राममणि स्नातकोत्तर उत्तीर्ण हुन् भने सम्झनाले १२ कक्षा पास गरेकी छिन् ।

राप्रपाबाट राजापुरको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका राममणि र सम्झना उपाध्याय । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully