लमजुङ — लमजुङका ८ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहका प्रमुखले पुन: उही पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बेंसीसहर नगरपालिका प्रमुखमा नेकपा एमालेका गुमानसिंह अर्याल, राइनास नगरपालिका प्रमुखमा एमालेकै सिंहबहादुर थापा, मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे र मर्स्याङ्दी गाउँपालिकामा नेकपा एमालेका अर्जुन गुरुङले अध्यक्ष पद लागि उम्मेदवारी दिएका छन् । उपप्रमुख तथा उपाध्यक्षमा भने कोही दोहोरिएका छैनन् ।
दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका बेंसीसहर नगरपालिका प्रमुखका प्रत्यासी गुमानसिंह अर्यालले नगरबासीको चाहना, पहिलो कार्यकालमा गरेको विकास निर्माणको जगलाई पूर्णता दिन र नागरिकको सेवामा अझ समर्पित हुन उम्मेदवारी दिएको बताए । उनीविरुद्ध बेंसीसहरमा कांग्रेसका श्रीकान्त घिमिरेले उम्मेदवारी दिएका छन् ।
राइनासमा एमालेका सिंहबहादुरविरुद्ध कांग्रेसका खड्कबहादुर गुरुङ, मध्यनेपालमा कांग्रेसका रमेशकुमारविरुद्ध एमालेका राजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । उपप्रमुखबाट राजीनामा दिएका राजकुमारले कांग्रेसबाट दोहोरिएका प्रमुख रमेशकुमारविरुद्ध उम्मेदवारी दिएका हुन् । मर्स्याङ्दीमा एमालेका अर्जुनविरुद्ध कांग्रेसका लोकनाथ घिमिरे चुनावी मैदानमा छन् । २०७४ मा अर्जुनसँग पराजित कांग्रेसका नरबहादुर गुरुङले यसपटक उठ्ने चाहना व्यक्त गरेनन् ।
सुन्दरबजार नगरपालिकामा एमालेबाट भीमबहादुर गुरुङ र कांग्रेसबाट कृष्णप्रसाद कोइराला प्रमुख पदका लागि चुनावी मैदानमा छन् । दोर्दी गाउँपालिकामा एमालेका युवराज अधिकारी र माओवादी केन्द्रका लालबहादुर गुरुङ चुनावी मैदानमा छन् । क्वहोलासोंथरमा एमालेका सूर्यप्रसाद गुरुङ र कांग्रेसका टेकबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि दूधपोखरीमा एमालेका तेजबहादुर गुरुङ र कांग्रेसका धनप्रसाद गुरुङ चुनावी मैदानमा छन् ।
लमजुङमा सत्ता गठबन्धन भएको भनिएपनि जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएको छ । कांग्रेस–माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भए पनि सौहार्द्ध हुन नसक्दा बागी उम्मेदवारी परेको छ ।
