नेपालगन्ज — एउटै पदमा दोहोरिने तथा धेरै आकांक्षी देखिने हुन्छन् नै तर एउटै पदमा परिवारबाटै उम्मेदवार हुने बिरलै हुन्छन् । तर नेपालगन्जका विभिन्न पालिकामा आउँदो स्थानीय तहको चुनावमा परिवारभित्रै प्रतिस्पर्धा हुने देखाएको छ ।
मोमीना खातुन ०७४ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट प्रमुखको दाबेदार थिइन् । राष्ट्रिय जनमोर्चामा लागेर लामो समयदेखि राजनीतिमा होमीएकी उनी अहिले खजुरा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । जहाँ उनकै छोरी नजिरा बेगमलाई एमालेले उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।
राजनीतिमा लामो समयदेखि लागेकी खातुन यो पटक अध्यक्षको उम्मेदवारी दिने तयारीमा थिइन् । ‘सोचेजस्तो भएन, गठबन्धनलाई पनि मिलाउनुपर्ने भएकाले उपाध्यक्षमा उठेको हुँ,’ उनले भनिन् ,‘छोरी उपाध्यक्षमा उठेर म उठेको होइन । हामी दुवै आफ्नो पाटिका उम्मेदवार मात्र हौं ।’
नजिरालाई एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवारी दिएपछि राष्ट्रिय जनमोर्चाबाट मोमीनाले उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् । खजुरा गाउँपालिकाको उपाध्यक्षमा ६ जनाले जनाको उम्मेदवारी परेको छ । खजुरामा भने अध्यक्षका लागि ८ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । नेकपा (माओवादी) केन्द्र र कांग्रेसको गठबन्धनमा माओवादी केन्द्रले अध्ययक्ष तथा कांग्रेसले उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।
२०७४ सालको स्थानीय तहको चुनावमा निर्वाचित जानकी गाउँपालिकाको उपाध्यक्ष भूमिसरा धितालले फेरि पनि उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । उनी गत वर्ष पनि एमाले उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । सोही पदमा उनकी छोरी निर्जना धिताल शर्मा अहिले स्वतन्त्रमा उम्मेदवारी दिएकी छन् । मधेसी बाहुल्य रहेको सो पालिकामा उपाध्यक्षमा आठ जनाको उम्मेदवारी परेको छ । जुन पालिकामा अध्यक्षमा जसपा र उपाध्यक्षमा माओवादी केन्द्रले गठबन्धन गरी उम्मेदवार बनाएका छन् ।
उता नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराए । सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका थिए । हाल उनी तरुण दल बाँकेको सचिव छन् ।
विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद रिजाल एमालेबाट वडा नं १ को वडा अध्यक्षका लागि उम्मेदावार छन् । उनी अघिल्लो कार्यकालको पनि वडाध्यक्ष थिए । उनी उपमहानगरपालिकाको प्रवक्ता समेत थिए । ‘वडामा गरेका राम्रा कामहरुको मूल्याकंन गरेर पार्टीले फेरि अवसर दिएपछि जिम्मेवारी नलिने भन्ने कुरा आउँदैन,’ उनले भने, ‘हामी आ–आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेकाले सम्बन्धमा कुनै तित्तता छैन ।’
त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइ प्रतिस्पर्धामा उत्रने भएका छन् । नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला ६५ मतले पराजित भएका थिए । माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्रबाट वडाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । ‘दुवैले आ–आफ्नो जितका लागि प्रतिस्पर्धा गर्ने हो । जोसँग जनाधार बलियो छ उसैले जित्ने हो यो बिल्कुलै राजनीतिक प्रतिस्पर्धा हो, ’ उनले भने, ‘चुनावी प्रतिस्पर्धा र सम्बन्ध फरक कुरा हुन् ।’
जिल्लाका आठ स्थानीय तहमा ४ सय २१ पदका लागि दुई हजार ३ सय २९ जनाको उम्मेदवारी परेको छ । मेयर पदमा ३३ जना, उपमेयरमा २० जना, अध्यक्षमा ४० र उपाध्यक्षमा ३६ जनाको उम्मेदवारी परेको छ । यस्तै, वडा अध्यक्षमा ५१२ जना, खुला सदस्यमा ८७२ जना, दलित महिला सदस्यमा ३९२ जना, महिला सदस्यमा ४२४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सबैभन्दा बढी नेपालगन्जको मेयर पदका लागि १८ जना र उपमेयरका लागि १० जनको उम्मेदवारी परेको छ ।
