जनकपुर — जनकपुरधाम उपमहानगरपालिकामा १२७ पदका लागि १ हजार ९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि आइतबार र सोमबार भएको मनोनयन दर्ताका क्रममा जनकपुरधामको मेयर पदमा ४१ जना र उपमेयर पदमा ३२ जनाले उम्मेदवारी दर्ता गराएको धनुषाका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए ।
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख र उपप्रमुखका लागि ५१ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दलले बागी उम्मेदवार नबनोस् भन्ने सोचका साथ उम्मेदवारी दर्ताको अन्तिम दिन उम्मेदवार टुङ्गो लगाए पनि धेरै सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा नेकपा (एमाले) र नेपाली कांग्रेस छन् ।
मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुर उपमहानगरको प्रमुख पदका लागि विभिन्न दलबाट १२ र स्वतन्त्र रूपमा २९ गरी ४१ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए । उपप्रमुख पदका लागि विभिन्न दलबाट १० र स्वतन्त्र २२ गरी ३२ जनाले उम्मेदवारी दर्ता गराएको उनले बताए ।
सोमबार अबेर रातिसम्म दर्ता भएको मनोनयन दर्तामा २५ वडा रहेको जनकपुरमा वडाध्यक्ष पदमा ३३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख निर्वाचन अधिकृत प्याकुरेलका अनुसार महिला सदस्यमा १७४ जना र दलित महिला सदस्यमा १८० जना र सदस्य पदमा ३३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
