कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्थानीय तह निर्वाचन २०७९

कार्यकर्ताबाटै कुटिएका श्रेष्टको टिकट खोसियो, गोरखाको मेयरमा कांग्रेसबाट पन्तको उम्मेदवारी

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले राजन राज पन्तलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसको गण्डकी प्रदेश समितिले यसअघि विश्वदेव श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

कार्यकर्ताबाटै कुटिएका श्रेष्टको टिकट खोसियो, गोरखाको मेयरमा कांग्रेसबाट पन्तको उम्मेदवारी

उम्मदेवारी दर्ताको तयारी गर्दै गरेका श्रेष्ठ आइतबार कांग्रेस कार्यकर्ताबाट कुटिएका थिए । अन्तिम समयमा प्रदेश समितिको निर्णय उल्ट्याउँदै नेपाली कांग्रेसको केन्द्रीय समितिले पन्तलाई उम्मेदवार बनाएको हो ।

पन्त अहिले दलबलसहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । पन्त २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाको मेयरमा विजयी भएका थिए । अहिले पुन: उम्मेदवारी दिन पुगेका पन्तको मनोनयन दर्ताको प्रक्रिया चलिरहेको छ ।

आइतबार दिउँसो आफ्नै कार्यकर्ताबाट कुटिएपछि टिकट खोसिएका श्रेष्ठले भने आफूमाथि अन्याय भएको बताएका छन् । ‘पिटेर टिकट लिने भनेको राजनीतिक मान्छेले होइन, यो अराजक भयो,’ उनले भने,‘टिकट पनि नगर समितिले लुकाएर राखे, पार्टी कार्यलयमा तालाबन्दी भयो, अर्को टिकट पठाएन भने पार्टीबाट मनोनयन हुन नसक्ने भयो भनेर शेरबहादुर देउवाजीसँग झुट बोलेर टिकट ल्याएका हुन् ।’

आइतबारको घटनाबारे पार्टीका केन्द्रीय सभापति देउवालाई जानकारी गराउने उनले बताए । ‘राजन पन्तको टिकट किन लिएर आइस् भनेर झ्याप्पा झ्याप हानेका छन्,’ उनले भने, ‘सरोकार नै नभएकाले यसरी कुटपिट गर्छन् भने कसले पठाएको भन्ने आफैँ बुझ्नुस् ।’ कुटपिट गर्नेका विरुद्ध कानुनी कारबाहीका लागि निवेदन दिने पनि उनले बताए ।

गोरखा नगरपालिकाको उपप्रमुखमा भने नेपाली कांग्रेसको तर्फबाट मसली माया थोकर उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यलय पुगेकी छन् ।

प्रकाशित : वैशाख १२, २०७९ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?