पोखरा — पोखरा महानगरपालिकाको मेयरमा कांग्रेस नेता नन्दप्रसाद तिवारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि मेयरमा कांग्रेसका १८ आकांक्षीमा उनको पनि नाम थियो । गठबन्धनका तर्फबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
गठबन्धनका नाममा पोखराका मतदातालाई अन्य पार्टीको चुनाव चिह्नमा मत दिन बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको तिवारीले बताए । उनी तत्कालीन कांग्रेस प्रजातान्त्रिकको कास्की सचिव थिए । पोखरा महानगरको मेयरमा यसअघि कांग्रेस नेताद्वय विमलबहादुर कार्की र ऋषि सापकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् ।
