८० प्रतिशत मतपत्र छपाई सकियो, ढुवानी १३ गतेदेखि 

वैशाख १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको ८० प्रतिशत छपाई सकिएको जानकारी दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाई सकिएको सोमबार जानकारी दिएका छन् ।

आयोगमा पत्रकार सम्मेलन गरेर मतपत्र छपाईलगायत निर्वाचन तयारीबारे प्रवक्ता पौडेलले जानकारी गराएका हुन् । 'सोमबारसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाइ सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी छ,' आयोगले भनेको  छ । स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ । 

आयोगले मंगलबारबाट मतपत्र ढुवानी सुरु गर्ने तयारी भइरहेको पनि जानकारी दिएको छ । 'निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम पूरा गरेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी भएको छ,' आयोगले भनेको छ ।

दुर्गमका जिल्लाहरूका लागि सुरुमा मतपत्र छापिएको थियो । त्यसपछि क्रमशः सुगमका जिल्लाका लागि मतपत्र छपाई भइरहेको आयोगले जनाएको छ । मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगको तयारी छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully