कांग्रेसबाट बुटवल मेयरमा पाण्डेको उम्मेदवारी

गठबन्धनमा विवाद भएपछि माओवादी र समाजवादीका नेताहरू मनोनयनको क्रममा सँगै गएनन्।

वैशाख १२, २०७९

अमृता अनमोल

बुटवल — बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस नगर सभापतिसमेत रहेका उनी यसअघिको निर्वाचनका प्रत्यासी हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएको बताए पनि बुटवलमा कांगेस एक्लै मनोनयन दर्ताका लागि गएको थियो । उपमेयर एकीकृत समाजवादी पार्टीका लागि भन्दै छोडेको  छ । समाजवादीले चीनबहादुर गुरुङलाई उपमेयरको उमेदवार बनाएको छ ।

यद्यपि गठबन्धनमा विवाद भएपछि उनीहरु मनोनयनका लागि समेत सँगै गएनन् । समाजवादीका एक नेताले पार्टीमा उमेदवारी दर्ताबारे छलफल भइरहेको बताए ।

कांग्रेसका पाण्डे २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३ सयको मतले पराजित भएका थिए । अहिले एमालेले बुटवलमा बाबुराम भट्टराईलाई मेयरमा उठाएको छ । उम्मेदवारी दर्ता गराउनुअघि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पाण्डेले  विकास र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

स्थानीय तह निर्वाचन २०७९

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully