बर्दिवास नगरपालिकामा कांग्रेसका दुई नेतालाई मेयरको टिकट !

वैशाख १२, २०७९

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवास नगरपालिका प्रमुखको लागि नेपाली कांग्रेसको तर्फबाट दुईजना नेताले टिकट पाएको दाबी गरेका छन् ।

लामो रस्साकसीपछि बर्दिबासमा नगरप्रमुखका दावेदार मानिएका प्रल्हाद क्षेत्रीले टिकट पाएको भन्ने पार्टीको आधिकारिक धारणा बाहिर आउन नपाउँदै अर्का नेता चिरञ्जीवी हमालले पनि नेपाली कांग्रेसबाट टिकट पाएको दाबी गरेका छन् ।

आफूलाई पार्टीले टिकट दिएको भन्दै दुवै नेता मनोनय दर्ता गर्न निर्वाचन कार्यालय पुगेपछि नेता तथा कार्यकर्ता अचम्ममा परेका छन् । सोमबार बिहान मात्र नेता क्षेत्रीले प्रदेशबाट नगरप्रमुखको उम्मेदवारको टिकट लिएर आएको बताएका छन् । 

तर कसको टिकट आधिकारिक हो भन्ने विषयमा जाँचबुझ हुने निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ । यस विषयमा आयोगसँग परामर्श लिने कार्य भइरहेको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए । 

दुवै नेताको उम्मेदवारी दर्ता नभएको र आधिकारिक टिकट पुष्टि भएपछि मात्रै एक नेताको उम्मेदवारी मात्रै दर्ता हुने सापकोटाले बताए । नेताहरु भने आ– आफ्नो टिकट आधिकारिक भएको दाबी गरिरहेका छन् ।

यस्तै आंकाक्षी धेरै भएपछि उम्मेदवार टुङ्ग्याउन नसकेको माओवादी केन्द्रको तर्फबाट बर्दिवास नगरपालिकाको नगरप्रमुखमा राजु खड्काको उम्मेदवारी पर्ने भएको बताइएको छ । खड्का माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् । यद्यपि उनले उम्मेदवारी दर्ता गरेका छैनन् ।

अन्य पदाधिकारीको भने टुंगो लाग्ने क्रममा रहेकाले सबै पदमा उम्मेदवार टुंगो लागेपछि मात्रै मनोनयन दर्ता गर्ने माओवादी केन्द्रले जनाएको छ ।

स्थानीय तह निर्वाचन २०७९

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully