पोखराको मेयरमा एमालेबाट थापाको उम्मेदवारी दर्ता

वैशाख १२, २०७९

दीपक परियार

पोखरा — पोखरा महानगरपालिकाको मेयरमा एमालेका कृष्णबहादुर थापालाई उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेकी छिन् ।एमाले सचिवालय बैठकले शनिबार मेयरमा दीपक पौडेल र उपमेयरमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयबाट पछि हट्दै सोमबार थापालाई अघि सारिएको हो ।

पौडेलले पोखराको एक गहना पसलबाट सुन चोर्दै गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विवादित बनेका थिए । एमालेले पौडेललाई उठाएपछि ०६६ को उक्त भिडियो एकाएक भाइरल बनाइएको थियो । उनलाई उम्मदेवार नबनाउन कार्यकर्ताको समेत व्यापक दबाब थियो ।

पौडेल उठ्दा मञ्जुदेवी गुरुङले समेत उपमेयरमा नउठ्ने बताएकी थिइन् । एमालेको प्रदेश समिति सदस्य पौडेल मेयरको उम्मेदवार हुँदा केन्द्रीय सदस्य गुरुङ उपमेयरको उम्मेदवार हुनु अमिल्दो भएको चर्चा थियो । केन्द्रीय सदस्य समेत रहेका थापालाई मेयरको उम्मेदवार बनाउँदा गुरुङ उपमेयरमा दोहोरिन तयार भएकी हुन् ।

हाल मेयरको उम्मेदवार बनाइएका थापा पनि विवादमुक्त व्यक्ति होइनन् । जातीय विभेदको अभियोगमा हिरासतमा रहेकालाई विनासर्त रिहा गर्न विज्ञप्ति निकालेपछि उनको व्यापक आलोचना भएको थियो ।

पोखरा–१६ बाटुलेचौरमा दलित समुदायलाई सार्वजनिक स्थलमा बनेको किरियापुत्री भवन स्थानीय क्षेत्री समुदायले प्रयोग गर्न नदिएको घटनामा उनले क्षेत्री समुदायको पक्षपोषण हुने गरी ०७७ वैशाख २४ मा विज्ञप्ति निकालेका थिए ।

स्थानीय तह निर्वाचन २०७९

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully