बुटवल — बुटवल उपमहानगरपालिकामा २६ वर्षीया युवतीले उपप्रमुखमा आफ्नो मनोनयन दर्ता गरेकी छिन् । जिल्लामा उपप्रमुखमा मनोनयन गर्ने व्यक्तिमध्ये उनी कम उमेरकी हुन् ।
बुटवल–११ की भगवती पाण्डेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उमेदवारी दर्ता गरेकी हुन् । स्थानीय तहमा युवाहरुको खाचो भएकाले उमेदवारी दर्ता गराएको उनले बताइन् ।
१५ वर्षदेखि राजनीति थालेकी उनी अहिले राप्रपाको क्षेत्रीय कोषाध्यक्ष हुन् । विभिन्न संघसस्थामा आवद्ध उनी पछिल्लो समय रोट्रयाक्ट क्लब अफ क्यापिटल बुटवलमा आबद्ध भई सामाजिक कार्यमा सक्रिय छन्। उनले बुटवल–११ मा केक कोसेलीसमेत सञ्चालन गर्दै आएकी छन्। उनी बुवा कृष्णप्रसाद पाण्डे र आमा मीना पाण्डेकी छोरी पाण्डे रोट्रयाक्ट क्लब अफ क्यापिटल बुटवलमा आबद्ध भई सामाजिक कार्यमा सक्रिय छन् ।
बुटवल उपमहानगरपालिकाको प्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मृगेन्द्रकुमार शेरचन सहित वडाध्यक्ष र वडा सदस्य गरी ९० जनाले मनोनयन दर्ता गरेका हुन् । बुटवल निवासी शेरचन सञ्चार उद्यमी हुन् । उनले तिनाउ एफएम सञ्चालन गरेका छन् ।
