'गेम इज ओभर' तर छाप लगाउन प्रतीक्षा गर्नुपर्‍यो : स्थापित

काठमाडौँ — काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का मेयर उम्मेदवार केशव स्थापितले आफू गठबन्धनभन्दा दोब्बर मतले विजयी हुने दाबी गरेका छन् । आफूले उम्मेदवारी दर्ता गरेसँगै चुनावको खेल सकिएको दाबी गर्दै उनले मतदानको छाप लगाउन मात्रै कुर्नुपर्ने बताए । 

'गेम इज ओभर' तर छाप लगाउन प्रतीक्षा गर्नुपर्‍यो : स्थापित

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेपछि सोमबार स्थापितले भने, 'गेम इज ओभर तर छाप लगाउन प्रतीक्षा त गर्नुपर्‍यो ।'

कांग्रेसको स्थायी भोट ४५ हजार, माओवादीको ७ हजार र ६ हजारजति एकीकृत समाजवादीको हुनसक्ने भन्दै स्थापितले गठबन्धनभन्दा दोब्बर मत ल्याउने दाबी गरे । उनले २०५४ सालमा नै मेयरमा ८४ हजार मत ल्याएर विजयी भएको भन्दै यसपटक पनि आफूले नै जित्ने दाबी गरे ।

'म प्रमाणित नभएको बेला, खेलकदमा अलिकति काम गरेको बेला जनताले ८४ हजार ६ सय भोट दिएको होइन ?,' उनले विगतमा आफूले राम्रो काम गरेको भन्दै थपे, 'कुनै प्रतिस्पर्धा बाँकी छ र भन्या ?'

आफू मेयर भएको बेला विश्वमा चौथो सफल मेयर भएको स्थापितको भनाइ थियो ।

त्यस्तै एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफू युवाको प्रतिनिधि भएको बताइन् । उनले संस्कृति र समाजको क्षेत्रमा काम गर्ने बताइन् । स्थापित जस्तो व्यक्तिसँग उम्मेदवार बन्न पाउँदा खुसी लागेको डंगोलको भनाइ थियो । 'अनुभवी, विज्ञको विज्ञता र युवाको जोश हुनुपर्छ अनि बल्ल काठटमाडौं महानगर बन्छ,' उनले भनिन् ।

एमालेको घोषणापत्रमा युवाहरूको प्रतिबद्धता समेटिएको डंगोलको भनाइ थियो ।

प्रकाशित : वैशाख १२, २०७९ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?