काठमाडौँ — नेपाली कांग्रेसले वीरग्रञ्ज महानगरपालिकाको उपमेयर पदमा इम्तियाज आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा वीरगञ्जको मेयर जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति छ । उपमेयरमा भने कांग्रेसले जिल्ला सचिव एवम् नेविसंघका पूर् केन्द्रीय सदस्य आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको केन्द्रीय संसदीय समितिले उम्मेदवार छान्ने जिम्मा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो । सभापति देउवाले सोमबार बिहान पार्टीका नेताहरूसँग परामर्श गर्दै उम्मेदवारको टुंगो लगाएका हुन् । पार्टीले उपमेयरमा आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको पर्सा जिल्ला सभापति जनार्दन क्षेत्रीले जानकारी दिए ।
‘उपमेयरमा आलमजीको नाम फाइनल भएको फोन आयो । सञ्चारमन्त्रीले आधिकारिक चिठ्ठी आउँछ भन्नुभएको छ,’ उनले भने । चुनावी तालमेल गर्दा कांग्रेसले छ महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र विराटनगरको मेयर र वीरगञ्ज, भरतपुर र पोखराको उपमेयर पद लिएको थियो ।
त्यसअनुसार कांग्रेसले मेयर पदमा काठमाडौंमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन, विराटनगरमा नागेश कोइराला, उपमेयर पदमा भरतपुरमा चित्रसेन अधिकारी र पोखरामा सुरेन्द्रमान विजुक्छेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
