चुनावी तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी

वैशाख ११, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा देशभरि चुनावी तालमेल गर्नेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक बसेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले साँझ ६ बजेदेखि सत्ता गठबन्धनको बैठक बसिरहेको जानकारी दिए । निर्वाचन आयोगले आइतबारदेखि उम्मेदवारको मनोनयन दर्ता सुरू गरेको छ । तर, सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेलको सहमति भइसकेको छ ।

 केन्द्रबाट देशभरि तालमेल गर्ने निर्णय भएपनि कार्यकर्ता तहमा सहमति नजुट्दा तालमेल हुन नसकेको हो । शनिबार साँझको बैठकमा नेताहरूले कुन–कुन जिल्लामा कसरी तालमेल गर्ने भन्नेबारे आइतबारसम्म तल्ला तहलाई नै सहमतिको जिम्मा दिने र सहमति हुन नसके आइतबार केन्द्रबाट समन्वय गरेर टुंगो लगाउने सहमति गरेका थिए ।

अहिले बैठकमा कुन प्रदेशमा कुन दलको कस्तो अवस्था छ, कहाँ कहाँ गठबन्धनका बीचमा समस्या आएको छ भनेर छलफल भइरहेको छ । गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाटै सिट बाँडफाँटको टुंगो लगाएपनि सबैजसो पार्टीभित्र केन्द्रले हस्तक्षेप गरेको भन्दै विरोध भइरहेको छ ।

शनिबारको बैठकमा नेताहरूले करिब ५० प्रतिशत स्थानीय तहमामात्रै चुनावी तालमेल गर्ने निर्णय भएको निचोड निकालेका थिए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully