पाँचथरमा स्वतन्त्र र केही दलको उम्मेदवारी दर्ता

वैशाख ११, २०७९

लक्ष्मी गौतम

पाँचथर — आसन्न स्थानीय तहको निर्वाचनका लागि पाँचथरमा स्वतन्त्रसहित केही दलका उम्मेदवारले आज निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन् ।

सदरमुकाम फिदिम नगरपालिकाका अधिकांश वडामा मंगोल नेसनल अर्गनाइजेसन र जनमुक्ति पार्टीका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ भने फालेलुङ र मिक्लाजुङसहितका गाउँपालिकामा पनि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार फिदिम नगरपालिका ११ मा चित्रबहादुर सुब्बाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । यसअघि संघीय लिम्बूवान मञ्चमा आबद्ध सुब्बाले आफूलाई जनताले अनुमोदन गरे जनताकै साझेदारीमा जनताको आवश्यकता अनुसारको काम गर्ने प्रतिबद्धता जनाए । 

मंगोल नेसनल अर्गनाइजेसनले फिदिम नगरपालिकाको मेयर पदमा हरिचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता गराएको छ ।

उक्त दलले नगरपालिकाको ६ नम्बर वडामा इन्द्र वुर्जा मगर, ७ मा जलकुमार गुरुङ र ८ मा सुसिल गुरुङलाई वडाध्यक्षको उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेको छ ।

कांग्रेस,माओवादी केन्द्र र नेकपा एमालेसहितका दलले भने वैशाख १२ गते मात्रै मनोनयन पत्र दर्ता गर्न समय लिएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully