एमाले धनकुटाले उम्मेदवार टुंग्यायो, सत्ता गठबन्धनको केही स्थानमा बाँकी 

वैशाख ११, २०७९

रमेशचन्द्र अधिकारी

धनकुटा — नेकपा एमालेले जिल्लाका सात वटै पालिकामा आफ्ना उम्मेदवार टुंगो लगाएको छ । एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीका अनुसार जिल्ला कमिटीले प्रदेश कमिटीमा पठाएको नामावली सदर भएपछि उम्मेदवारको टुंगो लागेको हो ।

जसमा धनकुटा नगरपालिका प्रमुखका लागि निवर्तमान नगर प्रमुख चिन्तन तामाङ उम्मेदवार रहेका छन् । उपपप्रमुखको उम्मेदवारमा भीमा खनाल छिन् ।

पाख्रीबास नगरपालिका प्रमुखमा भीम राई र उपप्रमुखमा नम्रता देउजा, महालक्ष्मी नगरपालिकामा प्रमुख दीपक बुढाथोकी र उपप्रमुखमा मञ्जु कार्की छन् । चौबिसे गाउँपालिका अध्यक्षमा राजकुमार चेम्जोङ र उपाध्यक्ष टंकमाया मगर, साँगुरीगढी गाउँपालिकामा कुमारजंग याखा र उपाध्यक्षमा मुना राई छन् । यस्तै, छथर जोरपाटी गाउँपालिकामा अध्यक्ष शेरबहादुर लिम्बु र उपाध्यक्षमा गोमा कार्की तथा सहीदभूमि गाउँपालिकामा अध्यक्ष मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राई रहेको बताइएको छ। 

धनकुटा नगरपालिकाको उपप्रमुख, पाख्रीबास नगर प्रमुख र उपप्रमुख तथा महालक्ष्मी नगरपालिकाको प्रमुख, चौबिसे, साँगुरीगढी र छथर जोरपाटीका उपाध्यक्ष नयाँ अनुहारका उम्मेदवार हुन् । चौबिसेका अध्यक्ष, उपाध्यक्ष, साँगुरीगढीका उपाध्यक्ष र छथर जोरपाटीका उपाध्यक्षसमेत नयाँ हुन् । अन्य सबै यसअघि सोही पदमा निर्वाचित जनप्रतिनिधि हुन् ।

७ वटा पालिका रहेको धनकुटामा एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा सबै तहमा प्रमुख र उपप्रमुख तथा ६० वडामध्ये ४३ मा जित हात पारेको थियो । बाँकी ९ मा कांग्रेस र ५ पदमा माओवादी र ३ मा जनता समाजवादीले जितेका थिए ।

कांग्रेस र माओवादीले चार वटामा टुंग्याए

सत्ता गठबन्धन दलहरूबीच अधिकांश पालिकामा अझै सहमति बन्न सकेको छैन । नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी गठबन्धनको रुपमा साझा उम्मेदवार बनाउने छन् ।

जसमध्ये कांग्रेस र माओवादीले केही स्थानमा साझा उम्मेदवार टुंगो लगाएका छन् । बाँकी अन्य दलको भागबन्डा अझै मिल्न बाँकी छ । धनकुटा नगरपालिका प्रमुख उम्मेदवारमा कांग्रेस जिल्ला सभापतिसमेत रहेका दिनेश राई र उपप्रमुखमा माओवादीका गणेश विष्ट रहेका छन् । यस्तै, महालक्ष्मी नगरपालिका प्रमुखमा कांग्रेसका ध्रुवराज राय र उपप्रमुखमा माओवादीका प्रेम खड्का छन् ।

पाख्रीबास नगर प्रमुखमा ज्ञानबहादुर गुरुङ र उपप्रमुखमा माओवादीका ओमप्रकाश निरौला रहेको बताइएको छ। छथर जोरपाटी गाउँपालिका अध्यक्षमा कांग्रेसका छत्र सुब्बा र उपाध्यक्षमा माओवादीका गीता खेवा उम्मेदवार छन् ।

चौबिसे, सहिदभूमि र साँगुरीगढी गाउँपालिकामा गठबन्धनको अझै टुंगो लागिसकेको छैन । आइतबार साँझसम्म उम्मेदवारको टुंगो लाग्ने कांग्रेस जिल्ला सभापति राईले बताए ।

स्थानीय तह निर्वाचन २०७९

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully