बैतडीमा एमालेले दुई पालिका उपाध्यक्ष बाहेक सबै उम्मेदवारको टुंगो लगायो

वैशाख ११, २०७९

तृप्ति शाही

बैतडी — वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा नेकपा एमालेले दुई पालिका उपाध्यक्ष बाहेक सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा भने एमालेले उपाध्यक्ष उम्मेदवारको टुंगो लगाउन सकेको छैन । यसका लागि छलफलमै रहेको एमाले उपसचिव लोकेन्द्र भण्डारीले बताए ।

यस्तै दशरथचन्द नगरपालिकाको मेयरमा पुष्करराज जोशी (लख्खाभाइ) र उपमेयरमा सरस्वती नेपाली, पाटन नगरपालिकाको मेयरमा नारायण भण्डारी र उपमेयरमा हरु भट्ट, मेलौली नगरपालिकाको मेयरमा जगदीश नायक र उपमेयरमा चन्द्रकला साउद र पुर्चौंडी नगरपालिकाको मेयरमा कर्णबहादुर कुंवर र उपमेयरमा जानकी साउदलाई उम्मेदवार बनाएको छ ।

सिगास गाउँपालिकाको अध्यक्षमा जस्वीर बोहरा र उपाध्यक्षमा धाना धामी, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा विना भट्ट र शिवनाथ गाउँपालिकाको अध्यक्षमा हजारी साउद र उपाध्यक्षमा शकुन्तला साउदलाई उम्मेदवार बनाएको छ ।

यस्तै सुर्नया गाउँपालिकामा राप्रपासँग चुनावी तालमेल गरेको एमालेले अध्यक्ष पदमा अम्मरबहादुर कुंवरलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा राप्रपाका देवबहादुर चन्दलाई उम्मेदवार बनाइएको छ ।

दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्र कार्की र डिलाशैनी गाउँपालिकाको अध्यक्ष अक्कल रानालाई उम्मेदवार बनाएको छ । वडा अध्यक्षका उम्मेदवारको टुंगो लगाउने कार्य पनि अन्तिम चरणमा पुगेको उपसचिव भण्डारीले बताए । जिल्लाका ८४ वटा वडामध्ये १/२ वडाको मात्र बाँकी रहेको उनको भनाइ थियो ।

स्थानीय तह निर्वाचन २०७९

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully