धरानमा गठबन्धनमा सहमति

कांग्रेसका नेताहरु असन्तुष्ट

वैशाख ८, २०७९

प्रदीप मेन्याङ्बो

सुनसरी — आगामी स्थानीय तहको निर्वाचनका लागि सत्ताधारी गठबन्धन दलले धरान उपमहानगरमा प्रमुख, उपप्रमुख र वडाको भागबण्डामा सहमति गरेको छ । माओवादी केन्द्रले प्रमुख र उपप्रमुखसहित ८ वटाभन्दा बढी वडाहरु, जनता समाजवादी पार्टीले आधा दर्जन बढी वडाहरु दाबी गरेपछि सहमति जुट्न समय लागेको थियो ।

लगातार चार पटक बसेको बैठकपछि सहमति जुटेको गठबन्धन दलले जनाएको छ । धरानको गठबन्धनमा जनमोर्चा भने सहभागी छैन । सहमति अनुसार नेपाली कांग्रेसको भागमा प्रमुखसहित वडाहरु १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ परेको छ । माओवादी केन्द्रको भागमा उप्रमुखसहित वडाहरु ३, १५, १७ र २० परेको छ । जनता समाजवादीको भागमा वडाहरु १० र १९ परेको छ भने नेकपा एकीकृत समाजवादी पार्टीको भागमा वडा ४ मात्र परेको छ । गठबन्धन दलहरुको वडागत अवस्था र जनाधारको आधारमा धरानका २० वटा वडा, प्रमुख र उपप्रमुख पद भागबण्डामा सहमति भएको जनाइएको थियो ।

कांग्रेसका नेता असन्तुष्ट

यसैबीच धरानमा गठबन्धन दलबीच भागबण्डामा सहमति भएको जानकारी दिन संयुक्त पत्रकार सम्मेलनको बीचैमा कांग्रेसका असन्तुष्ट पक्ष आएर पत्रकार सम्मेलमै आक्रोशित भएका छन् । 

कांग्रेसका तर्फबाट वडाध्यक्षको आकांक्षीहरुले गठबन्धन नचाहिने बताउँदै कांग्रेस एक्लैले चुनाव लड्ने बताएका थिए । असन्तुष्ट पक्षले आफूहरुलाई कुनै जानकारी नै नदिइ आफूखुसी अन्य दलसँग गठबन्धन गरेको आरोप लगाएका थिए । उनीहरुले गठबन्धनको सहमति हुँदै गर्दा क्षेत्रीय कार्यसमितिले बुथ सभापतिहरुसँग सल्लाह नगरेको र आफूखुसी वडाहरु बाँडफाँट गरेकाले नेतृत्वको चर्को विरोध गर्नु परेको नेता अजय राई र राजकुमार थोप्राले बताए । धरानमा एमालेलाई टक्कर दिन कांग्रेस एक्लै सक्षम हुँदाहुँदै वडा नं १७, १५, १९, १०, ३ लगायत वडाहरु गठबन्धनको नाममा अन्य पार्टीलाई दिएको भन्दै उनीहरुले विरोध गरेका थिए । वडामा बुथ सभापति, क्षेत्रीय प्रतिनिधिहरुसंग राय सल्लाह नगरी गुटको आधारमा वडाहरु भागबण्डा गरेकोले विरोध जनाएको बताए । 

धरानको गठबन्धन दलमा वडा भागबण्डा गर्ने अधिकार कसले दियो भनेर असन्तुष्ट पक्षले प्रश्न गर्दा सहमति पत्रमा हस्ताक्षर गर्ने कांग्रेस नेताहरुले जवाफ दिन सकेका थिएनन् । पत्रकार सम्मेलन बिथोलिएपछि कांग्रेस नगर सभापति श्याम पोखरेलले कार्यक्रम  समापन भएको घोषणा गरेका थिए । 

स्थानीय तह निर्वाचन २०७९

प्रदीप

Link copied successfully