युवाको मन जितेर मत तान्ने प्रतिस्पर्धा गर्नुको सट्टा प्रमुख दलका शीर्ष नेता आफ्नै कुण्ठा र प्रतिशोधमा
काठमाडौँ — वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा ३६ लाख ५९ हजार २ सय ९९ नयाँ मतदाताले भाग लिनेछन् । पाँच वर्षमा थपिएका नयाँ मतदाताको संख्या गत संसदीय निर्वाचनमा पहिलो दल एमालेले पाएको भन्दा पाँच लाख बढी हो । नयाँ मतदातामध्ये केही पहिल्यै उमेर पुगेर पनि नाम छुट भएका थिए भने धेरैजसो भर्खर १८ वर्ष पुगेका हुन् ।
अघिल्लो संसदीय निर्वाचनमा एमालेले समानुपातिकतर्फ ३१ लाख ७३ हजार चार सय ९४ मत पाएको थियो, त्योभन्दा ४५ हजार एक सय पाँच मत कम पाएर कांग्रेस दोस्रो भएको थियो । उसले ३१ लाख २८ हजार तीन सय ८९ मत पाएको थियो । तेस्रो दल माओवादीका पक्षमा १३ लाख तीन हजार सात सय २१ मत खसेको थियो । थपिएका मतदाता सबैभन्दा बढी लुम्बिनीमा छन् । पाँच वर्षमा लुम्बिनीमा ७ लाख ५७ हजार ९ सय ४३ मतदाता थपिएका छन् । अघिल्लो स्थानीय तहमा २४ लाख ६१ हजार ५ सय १४ मतदाता रहेको यो प्रदेशमा यसपालि ३२ लाख १९ हजार ४ सय ५७ मतदाता दर्ता भएका छन् ।
मतदाता थपिने दोस्रो नम्बरमा छ, मधेस । यहाँ ६ लाख ६६ हजार २ सय २० जना थपिएर कुल मतदाता संख्या ३३ लाख ३१ हजार १ सय ७० पुगेको छ । यसअघिको निर्वाचनमा मधेसमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता थिए ।
प्रदेश १ मा ६ लाख ६२ हजार ८ सय ९६ मतदाता थपिएका छन् । यो प्रदेशमा अब ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता सूचीकृत भएका छन् । यो प्रदेशमा २०७४ को निर्वाचनमा २६ लाख ४ हजार ४ सय ८ मतदाता थिए । सबैभन्दा बढी मतदाता रहेको वाग्मती प्रदेशमा नयाँ मतदाता भने ६ लाख ५३ हजार १ सय ३६ मात्र छन् । अघिल्लो निर्वाचनमा २७ लाख ५९ हजार ७ सय ३३ मतदाता रहेकामा यसपालि ३४ लाख १२ हजार ८ सय ६९ पुगेका छन् ।
गण्डकी प्रदेशमा यसअघि १४ लाख १३ हजार ५ सय ८६ मतदाता थिए, यसपालि ३ लाख ७५ हजार ८ सय २५ जना थपिएका छन् । अब गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता मतदानका लागि योग्य भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा १३ लाख ४ हजार ६ सय ४९ मतदातामा २ लाख ३७ हजार ५ सय १ मतदाता थप भएर १६ लाख ३२ हजार १ सय ५० पुगेका छन् । सबैभन्दा कम मतदाता थपिने प्रदेश कर्णाली हो । कर्णालीमा २०७४ को निर्वाचनमा ७ लाख ३ हजार ५ सय ४ मतदाता थिए । २ लाख १७ हजार ७ सय ७ मतदाता थपिएर १० लाख १ हजार ८२ पुगेका छन् ।
नयाँ पुस्ताका मतदाता के सोच्छन् र तिनलाई आकर्षित गर्न राजनीतिक दलले कस्ता कार्यक्रम ल्याएका छन् । यो प्रश्न नै सबैभन्दा महत्त्वपूर्ण हुने राजनीतिक दलका नेताहरू नै बताउँछन् । सार्वजनिक मञ्च तथा चुनावी भाषणमा शीर्ष नेताहरू एकअर्काको व्यक्तिगत आलोचना गर्नमै व्यस्त रहे पनि घोषणापक्र लेख्ने क्रममा भने युवा मतदातालाई लक्षित योजना राख्न दलका नेताहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।
कांग्रेसको घोषणापत्र लेखनको नेतृत्व गरिरहेका महामन्त्री गगन थापा आफू नयाँ मतदाताप्रति निकै सचेत रहेको बताउँछन् । चुनावी प्रशिक्षणमा युवा केन्द्रित स्थानीय मुद्दा अघि सार्नुपर्ने उनको भनाइ छ । ‘नयाँ मतदाता वडा–वडा, टोल–टोलमा छरिएका हुन्छन्, परिवारका अगुवाको आस्था जुनसुकै पार्टीमा भए पनि युवा भने स्वतन्त्र मतदाता हो, हुनुपर्छ भन्ने मानिएको पाइँदैन,’ उनी भन्छन्, ‘नयाँ मतदाताका नयाँ सोच र नयाँ माग हुन्छन्, जसलाई दलहरूले पूरै बेवास्ता गर्छन्, यो दललाई घाटा हो र समग्रमा मतदातालाई पनि घाटा हो ।’
नयाँ मतदातामध्ये सहरका युवा ‘राजनीतिमा मलाई चासो छैन र भोटै हाल्दिनँ’ भन्ने छन् । उनीहरू सबै राजनीतिक दलसँग रिसाएका हुन्छन्, भयानक आक्रोश हुन्छ । तर आत्रोश अभिव्यक्त गर्ने सबैभन्दा ठूलो अस्त्र मतपत्र हो भन्ने उनीहरूलाई बुझाउन नसकिएको महसुस गर्छन् थापा । भन्छन्, ‘उनीहरूका माग ठूल्ठूला होइन, नितान्त स्थानीय हुन्छन्, मैले एक/दुई ठाउँ गएर उनीहरूसँग छुट्टै भेट्ने कोसिस गरेको छु, सुरुमा संवाद गर्न चाहँदैनन्, किनकि उनीहरूलाई हामी मन पर्दैन, दलका मान्छे नै मन पर्दैनन्, संवाद गरिसकेपछि जब खुल्न थाल्छन्, उनीहरूका सुन्दर आकांक्षा खुल्छन् ।’
कांग्रेसकै घोषणापत्र लेखन समितिका सदस्य गुरुराज घिमिरे मुख्यतः रोजगारी, शिक्षा, कृषि, स्वास्थ्यका विषय घोषणापत्रमा समेट्न लागिएको जानकारी दिन्छन् ।‘रोजगारीका अवसर सिर्जना, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, शिक्षाको गुणस्तरीयताको आधार बसाल्ने योजना घोषणापत्रमा समेटिएका छन्,’ उनी भन्छन् ।
एमालेको घोषणापत्र लेखन समिति सदस्य तथा उपमहासचिव प्रदीप ज्ञवालीले पहिलो पटक मतदाता बन्न लागेका युवालाई स्थानीय सरकारमा साझेदार बनाउने विषय घोषणापत्रमा समेटिएको बताउँछन् । घोषणापत्र लेखनमा युवाका लागि खासगरी रोजगारीको उपलब्धता, शिक्षा, स्वास्थ्यलगायत आधारभूत सुविधा, व्यक्तित्व विकासका लागि चाहिने खेलकुद र मनोरन्जनलगायतका विषयलाई मध्यनजर गरिएको उनको भनाइ छ । ‘युवाहरू राजनीतिमा दर्शकजस्ता मात्रै भएका छन् । राजनीतिमा उनीहरू जुन ढंगले सहभागी हुनुपर्ने हो त्यसरी हुन पाएका छैनन् । उनीहरूको सहभागिता हुनेबित्तिकै अपनत्व बढ्छ,’ ज्ञवाली भन्छन्, ‘युवाका मुद्दालाई राजनीतिले छोएन भन्ने कुरा आएका छन्, त्यसैले स्थानीय तहको राजनीतिलाई युवाका मुद्दासँग जोड्ने योजना घोषणापत्रमा राखेका छौं ।’
माओवादीले भने घोषणापत्र लेखनको जिम्मेवारी सम्बन्धित तहलाई नै दिएको छ, स्थानीय तहअनुसार आवश्यकता र योजना फरक हुने भएकाले केन्द्रबाट घोषणापत्र नलेखिएको दलको भनाइ छ । तर पहिलो पटक मतदान गर्न लागेको युवाका लागि योजना राख्न भनिएको नेता वर्षमान पुन बताउँछन् । भन्छन्, ‘यो गणतान्त्रिक व्यवस्था युवाहरूका लागि हो र यसका लागि माओवादी लडेको थियो । माओवादीले व्यवस्था बदल्यो अब रोजगारी, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रबाट अवस्था बदल्ने गरी योजना ल्याउन सबै तहका कमिटीलाई सर्कुलर जारी गरिएको छ ।’
युवा सरोकारका विषय उठाएर उनीहरूलाई राजनीतिमा अगाडि सारिरहेको पुनको भनाइ छ । ‘युवाले आर्थिक विकास, रोजगारी, पूर्वाधार निर्माणका विषयमा आफ्नो चासो राखिरहेका छन् । आफ्नो ठाउँको प्राथमिकता छुट्याउन सक्ने भएका छन् । त्यही नै युवाको राजनीति हो,’ पुन भन्छन्, ‘राजनीतिलाई युवाले घृणा होइन, सम्मान गर्ने गरी समाहित गर्नुपर्छ । त्यसका लागि युवाहरूको मुद्दा केन्द्रित कार्यक्रम ल्याउने र शासन सञ्चालनमा उनीहरूलाई सहभागी गराउने योजना अगाडि ल्याउने हो ।’
राजनीतिप्रति युवाहरूलाई आकर्षित गर्न स्थापित नेताहरूले आफ्नो चरित्रमा सुधार गरी कार्यक्षमता देखाउनुपर्ने कांग्रेसका नेता घिमिरेको भनाइ छ । ‘पहिलो पटक भोट हाल्न लागेका युवाहरूमा राजनीतिप्रतिको वितृष्णा अन्त्य गर्नका लागि नेताहरूको चरित्रमा सुधार हुनुपर्यो । राजनीतिप्रति जनताको विश्वास बढ्नुपर्यो, त्यसले नै नयाँ पुस्ताको आकर्षण बढाउँछ । राजनीति भनेको जनतालाई गुमराहमा राखेर स्वार्थ पूरा गर्ने क्षेत्र हो भन्ने बुझाइलाई बदल्न नेताहरू नै बदलिनुपर्छ,’ घिमिरेको भनाइ छ ।
एमाले केन्द्रीय कमिटीमा रहेको युवा नेता हुन् अरविन्द सिंह । उनी भन्छन्, ‘पहिले युवा संगठनहरूबाट नयाँ मतदातालाई संगठित गर्न सकिन्थ्यो, अहिले त्यस्ता कार्यक्रमको कमी छ, चुनावमा मात्र गतिविधि बढ्दा युवालाई सत्रिय बनाउन चुनौती हुन्छ ।’ युवाहरू राजनीतिप्रति किन निराश छन् ? त्यो विषय पहिल्याएर चुनावी एजेन्डा बनाउनुपर्ने उनको भनाइ छ ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठक आफ्ना उम्मेदवार र चुनावी एजेन्डाले युवाहरूको मन जित्न सक्ने दाबी गर्छन् । ‘वर्षौंदेखिको नेतृत्वले मुलुकलाई कुशासनकै दुश्चक्रमा राखिरह्यो । आम मानिस, युवालाई निराशामा राख्यो, फेरि पनि तिनैलाई अनुमोदन गर्ने हो भने राजनीति बिग्रियो भनेर गनगन गरेर काम छैन,’ उनले भने, ‘युवाहरूलाई समेट्ने उम्मेदवारलाई मौका दिनुपर्यो नि, त्यसपछि सही अर्थमा राजनीतिक युग सुरु हुन्छ र त्यो युगको नेतृत्व युवाले गर्छ ।’
उता युवाहरूको भने आफ्नै सोच छ । तीन महिनाअघि मतदाता परिचयपत्र हात पारेका शिशिर लामिछाने दुई कारणले उत्साहित छन् । पहिलो, उनी पहिलो पटक मतदानमा भाग लिँदैछन् भने दोस्रो, स्थानीय तह निर्वाचनमा उनैले चाहेको उम्मेदवारलाई विवेकपूर्ण ढंगले भोट हाल्ने अधिकार उनीसँग छ । ‘स्कुलमा नै राइट टु भोट भनेर पढेको थिएँ, यसपालि त्यो अधिकार प्रयोग गर्दै छु, कस्तो हुँदोरहेछ भन्ने एक्साइटमेन्ट भइरहेको छ,’ उनी सुनाउँछन् ।
बौद्ध घर भएका १९ वर्षीया लामिछाने बीबीए पहिलो सेमेस्टरमा अध्ययनरत छन् । उनी कुनै राजनीतिक दल विशेषप्रति आस्था राख्दैनन् । उम्मेदवार छनोट गर्ने उनको आफ्नै मापदण्ड छन् । युवाका नयाँ सोच र अपेक्षा सुनिदिने, युवालाई स्वदेशमै गुणस्तरीय शिक्षा, रोजगारी दिलाउने, प्रविधिमैत्री सेवा दिने र निरन्तर विकास गर्ने उम्मेदवार उनको छनोटमा पर्नेछन् । ‘पहिलो रोजाइमा युवा नै पर्नेछन्, युवा नभए नवीनतम् मुद्दा र सोचलाई सम्बोधन गर्ने उम्मेदवारलाई मेरो भोट जानेछ,’ उनी भन्छन्, ‘सडक, विद्युत्जस्ता भौतिक पूर्वाधार केन्द्रित विकास मात्रै होइन, युवाका रुचिमा पर्ने खेलकुद, संगीत, साहित्य, कला–संस्कृतिलाई पनि प्राथमिकता दिने उम्मेदवार खोज्दै छु ।’
बुबाआमा र आफ्नो रोजाइ फरक पर्न सक्ने उनको भनाइ छ । ‘ड्याडीमम्मीले युवालाई पत्याइहाल्नुहुन्न, तर उहाँहरूले पत्याएर पठाएकाले यत्रो पाँच वर्षमा गतिलो काम पनि गर्नु भएन,’ भन्छन्, ‘मेरो घर नजिकैको बाटो चार वर्षसम्म बिजोग थियो, पाँचौं वर्षमा आएर मात्रै बन्यो, अहिले काठमाडौंको खाल्डाखुल्डी भटाभट पुरिएका छन्, चुनाव आउँदा खाल्डो पुर्नेले देशको विकास गर्न सक्दैनन् ।’ निर्वाचित भएपछि कार्यकालभरि निरन्तर काम गर्ने र युवाको विश्वास जित्ने उम्मेदवारलाई जिताउनुपर्ने उनको धारणा छ ।
निर्मला तामाङ पनि यस्तै सोच राख्छिन् । २४ वर्षीया तामाङ अध्ययनका लागि नै सिन्धुपाल्चोक छाडेर काठमाडौं आएकी हुन् । व्यवस्थापन संकायमा पढ्न र त्यतैबाट भविष्य बनाउन चाहन्थिन् । पढ्न चाहेको विषय गाउँको कलेजमा थिएन । घर छोडेर काठमाडौं आइन् । प्लस टु व्यवस्थापन संकायमा भर्ना भइन्, परिवारमा धेरै सदस्य भएकाले बाआमाले खर्च दिन नसक्ने भएपछि काम गर्दै, खर्च जुटाउँदै गर्दा जीवन संघर्षपूर्ण भयो । ‘गाउँमै पढ्न पाएको भए घरमै बसेर, घरकै खाएर पढ्न पाउँथे, अहिले मैले कोठाभाडा तिर्नकै लागि पनि कठिन काम गर्नुपर्छ,’ भन्छिन्, ‘अब भोट हाल्ने समयमा मजस्ता युवाका मुद्दालाई कुन दल र कुन उम्मेदवारले सम्बोधन गर्छन् त भनेर साथीहरूसँग सल्लाह गर्छु । शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नेलाई भोट दिने हो ।’
युवाहरू नेतृत्व र निर्णय क्षमता राख्न सक्दैनन् भन्ने पुरानो सोचलाई चुनौती दिने बेला आएको ललितपुरका सागर लामाको बुझाइ छ । २२ वर्षीया लामा पूर्ण दृष्टिविहीन व्यक्ति हुन् । अपांगता भएका व्यक्ति (खासगरी दृष्टिविहीनको) अधिकार क्षेत्रमा युवा अभियन्ताका रूपमा सक्रिय उनी कुनै राजनीतिक दलविशेषप्रति आस्था राख्दैनन् । शिक्षा, स्वास्थ्य, रोजगारी, अपांगता, पिछडिएका, जनजाति, दलितका मुद्दामा काम गर्न चाहने मात्र उम्मेदवार उनको रोजाइमा पर्दैनन् । उनलाई आकर्षित गर्ने उम्मेदवार युवालाई सुन्ने, बुझ्ने, समाज, देशको विकास र नेतृत्वमा समेट्न चाहने हुनुपर्छ ।
ललितकलामा स्नातक गर्दै गरेका लामा कला, साहित्य र समाजका बारेमा जानकारी राख्छन् । बहालवाला जनप्रतिनिधिले कला–साहित्यलाई खासै प्राथमिकता नदिएको, वडादेखि पालिकासम्मका नीति, योजनामा युवालाई नसमेटेको उनका मूल्यांकन छ । आफ्नै मूल्यांकनका आधारमा मतदान गर्ने उनको भनाइ छ । ‘आमाबुबाले रोजेकै दल र उम्मेदवारलाई फरि पनि भोट हाल्नुपर्छ भन्ने परम्परालाई अस्वीकार गर्छु किनकि अहिलेको युवाहरू सुसूचित भइसकेका छन्, मतको महत्त्व बुझ्ने भइसकेका छौं,’ उनी भन्छन्, ‘कार्यगत र नेतृत्व क्षमता राख्नेलाई अवसर दिनुपर्छ, अब युवाहरू लोभलालचमा फस्नु हुँदैन ।’ लामाको विचारमा राजनीतिक दल निकट संगठनमा लागेका युवाहरू मनै नपरेकालाई पनि भोट हाल्न बाध्य पारिन्छन् । तर स्वतन्त्र मतदाता भने असल उम्मेदवारका लागि निर्णायक हुने गर्छन् ।
राजनीतिक विश्लेषक इन्द्र अधिकारी पनि आगामी निर्वाचनमा नयाँ मतदाता निर्णायक हुने बताउँछिन् । उनको विश्लेषणमा निर्वाचित जनप्रतिनिधिको मनपरीले मतदाता रुष्ट छन् । राजनीतिशास्त्रका विद्यार्थीहरू पढाउँदै गर्दा युवापंक्तिमा राजनीतिप्रतिको निराशा छताछुल्ल भएको महसुस उनले गरेकी छन् । ‘पञ्चायतकालमा जस्तो बाउआमा कुनै पार्टीमा लागेकै कारण छोराबुहारी र तिनका सन्तति त्यतै लाग्छन् भन्ने अब छैन, अब त बाआमा, अभिभावकमा पनि निराशा छ,’ अधिकारी भन्छिन्, ‘छोराछोरीलाई पहिलेजसरी दबाब दिन्छन् भन्ने लाग्दैन, छोराछोरी स्वविवेक प्रयोग गर्ने भइसकेका छन्, किनकि भोट हाल्ने ठाउँमा त एक्लै जाने हो नि ।’
समाजशास्त्री तिलक विश्वकर्मा नयाँ मतदाताको राजनीतिक पृष्ठभूमिले उम्मेदवार चयनमा अर्थ राख्ने बताउँछन् । ‘अझै पनि समाजमा खाडल छ, काठमाडौंमा पढ्दै वा काम गर्दै गरेको मतदाता गाउँमा पुगेर भोट हाल्नुछ तर आउजाउ खर्च छैन भने लहैलहैमा लागेर कुनै पनि पक्षले व्यवस्था गरेको गाडी चढेर आउजाउ गर्न सक्छन्, उनकै पक्षमा भोट हाल्न बाध्य हुन्छन्,’ उनी भन्छन्, ‘यति हुँदाहुँदै पनि राजनीतिक दल र तिनका उम्मेदवारलाई चुनौती त हुन्छ नै किनकि युवा मनस्थिति धेरै फेरिइसकेको छ ।’
