सुदूरपश्चिममा गठबन्धन कठिन

धनगढी उपमहानगरपालिकासहित ३३ नगरपालिका र ५४ गाउँपालिकामा उम्मेदवार छनोट अन्योलमा

वैशाख ७, २०७९

प्रदेश ब्युरो

धनगढी — सत्ता साझेदार दलहरूले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भने पनि सुदूरपश्चिममा अनिश्चित छ । गठबन्धन आबद्ध दलहरूका प्रदेश समितिले उम्मेदवारको अझै टुंगो लगाउन सकेका छैनन् । दलहरूका कतिपय जिल्ला र प्रदेश समितिको बैठक नै बस्न नसकेर उम्मेदवार छनोट अन्योलमा परेको हो ।

उम्मेदवारकै टुंगो नलागेका कारण चुनावी माहोल बन्न सकेको छैन । उम्मेदवार छनोट गर्ने निर्णायक ठाउँमा बसेका नेताहरू पछि हुने प्रदेश र संघीय निर्वाचनमा आफैंलाई घाटा हुन सक्ने आकलन गरी तैं चुप मै चुपको अवस्थामा देखिन्छन् । सात पहाडी र २ तराईका समेत ९ जिल्ला भएको सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह छन् । जसमध्ये कैलालीमा प्रदेशकै एकमात्र धनगढी उपमहानगरपालिकासहित ९ जिल्लामा ३३ नगरपालिका र ५४ गाउँपालिका छन् । कुल वडाको संख्या ७३४ छ ।

मिल्ने ठाउँमा गठबन्धन 

सात वटा स्थानीय तह रहेको कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेलधुरामा आइतबार बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले आवश्यकताअनुसार सहमति गरेर जाने निर्णय गरेका छन् । माओवादीले ५० प्रतिशत स्थानीय तहमा दाबी गरेपछि विवाद उत्पन्न भएको डडेलधुरामा सत्ता साझेदार दलहरूले जहाँ जसको उपयुक्त हुन्छ, त्यहाँ गठबन्धन गर्ने निर्णय गरेको हो ।

‘सत्ता गठबन्धन बाहिरका दलसँग मिलेर चुनाव नलड्ने तर गठबन्धनभित्रका दलले कुनै पनि पालिकामा एकअर्काबीच गठबन्धन गर्ने निर्णय भएको हो,’ कांग्रेस नेता रघुवर भट्टले भने । परशुराम नगरपालिकाको विषयमा माओवादीसँग कुरा मिल्न नसकेका कारण कुनै निर्णय हुन सकेको छैन । परशुराम नगरपालिकामा सबैभन्दा बढी मतदाता छन् । यो नगरपालिका कांग्रेस जिल्ला सभापति भीमबहादुर साउद मेयर रहेको पालिका पनि हो । सबै पार्टीले आफ्नो आफ्नो दलबाट सम्भावित उम्मेदवारको नाम सिफारिससमेत गरिसकेका छन् । कांग्रेस, माओवादी र समाजवादीले आफ्नो दलभित्र उम्मेदवार सिफारिस गरे पनि गठबन्धनको निर्णय पर्खिएका छन् ।

गठबन्धन जटिलतातिर

केन्द्रबाट जारी समयतालिकाअनुसार सुदूरपश्चिममा कुनै पनि जिल्लामा गठबन्धनका जिल्ला तहका संयन्त्रले भागबन्डाको निर्क्योल गर्न सकेका छैनन् । 

१३ स्थानीय तह रहेको प्रदेशको सबैभन्दा ठूलो कैलालीमा पनि गठबन्धनका विषयमा ठोस सहमति हुन सकेको छैन । प्रदेशको एकमात्र उपमहानगरमा केन्द्रबाटै निर्णय हुने भए पनि अन्य स्थानीय तहमा अहिलेसम्म कुनै निर्णय हुन नसकेको हो ।

‘गठबन्धन जटिलतातिर छ,’ प्रदेश संयन्त्रका संयोजक एवं कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले भने, ‘प्रगति हुन सकेको छैन । बैठक अनिश्चित छ । केही प्रगति भयो भने बैठक हुन सक्छ ।’ जित्नका लागि गठबन्धन हुनुपर्ने उनको भनाइ छ । 

एकीकृत माओवादीले पनि सत्तारूढ दलबीचको चुनावी गठबन्धन अनिश्चयतर्फ उन्मुख रहेको बताएको छ । माओवादीका प्रदेश सचिव जनक बुढाले भने, ‘आजका मितिमा गठबन्धन टुटिसक्यो भन्नु हतार हुन्छ । हामी जोगाउने पक्षमा छौं तर सहज छैन ।’ सत्तारूढ गठबन्धनभित्रको अर्को दल एकीकृत समाजवादीले पनि सुदूरपश्चिममा गठबन्धन धरापमा पर्न सक्ने आकलन गरेको छ ।

१३ स्थानीय तह रहेको प्रदेशको सबैभन्दा ठूलो कैलाली जिल्लामा पनि गठबन्धनका विषयमा ठोस सहमति हुन सकेको छैन । प्रदेशको एकमात्र उपमहानगरमा केन्द्रबाटै निर्णय भए पनि अन्य स्थानीय तहमा अहिलेसम्म कुनै निर्णय हुन नसकेको हो । कैलालीमा सत्ता साझेदार दल जनता समाजवादी पार्टीले एक्लै निर्वाचन लड्ने निर्णय गरिसकेको छ । कांग्रेस, माओवादी, समाजवादी र जनमोर्चाबीच पटकपटक बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि आफ्नो प्रदेशस्तरको कमिटीलाई जिम्मा दिएका छन् ।

कांग्रेस प्रदेश अध्यक्ष वीरबहादुर बलायरले कैलालीमा सहमतिको नजिक पुगेर पनि सहमति हुन नसकेको बताए । बलायरले भने ‘माओवादी र समाजवादीसँग बेग्लाबेग्लै प्रदेशस्तरमा बैठक भएका छन्, सामूहिक बैठक पनि भएको छ ।’ कैलालीका केही स्थानमा मिल्ने वातावरण बनेको पनि उनले जानकारी दिए । बलायरले भने, ‘एक/दुई दिनभित्रै ठोस निर्णय हुन सक्छ ।’

बझाङमा गठबन्धनको सम्भावना टर्दै 

सत्ताधारी पाँच दलबीच सिट बाँडफाँटमा कुरा नमिलेपछि चुनावी गठबन्धनको सम्भावना कम हुँदै गएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये कांग्रेसले यसअघि जितेका चार पालिकासहित थप दुई पालिकामा आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । बाँकी रहेका ६ पालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई नेतृत्व दिने कांग्रेसले प्रस्ताव ल्याएको हो । माओवादी केन्द्र र समाजवादीले छबिस पाथीभेरा गाउँपालिका नछोड्ने बताएपछि गठबन्धनमा थप सकस देखिएको नेताहरूले बताएका छन् ।

कांग्रेस र अन्य दल तथा समाजवादी र माओवादीको आआफ्नै अडानका कारण गठबन्धन नहुने अवस्था सिर्जना हुँदै गएको नेताहरू बताउँछन् । गठबन्धन भंग भइसक्यो भनेर घोषणा नभएको तर गठबन्धन हुने सम्भावना न्यून रहेको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनकबहादुर बुढाले बताए । माओवादीले एकल उम्मेदवार उठाउन तयारी सुरु गरिसकेको उनको भनाइ छ । 

कञ्चनपुरमा उम्मेदवारको टुंगो लागेन

कञ्चनपुर जिल्लामा कुनै दलले पनि उम्मेदवारी टुंगो लगाउन सकेका छैनन् । गठबन्धन दलहरू अझै पनि छलफलमै छन् । प्रमुख प्रतिपक्षी एमालेले पनि केही वडाध्यक्ष र एउटा पालिकाबाहेकमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । उनले गठबन्धन दलभित्र नियमित रूपमा छलफल चलिरहेको बताए । 

‘गठबन्धन दलभन्दा बाहिरको दलले जितेको ठाउँमा भागबन्डा नमिल्दा केही ढिलाइ भएको हो,’ माओवादी केन्द्र कञ्चनपुरका अध्यक्ष खेमराज पाण्डेयले भने, ‘सबैले आ–आफ्नो दाबी गरेका छन् ।’ नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जीवन थापाले आन्तरिक रूपमा उम्मेदवारको छनोट भइरहेको बताए । नौ स्थानीय तह रहेको कञ्चनपुरमा पछिल्लो निर्वाचनमा एमालेले ५ मा तथा माओवादी र कांग्रेसले २/२ पालिकामा चुनाव जितेका थिए । एमालेबाट निर्वाचित पुनर्वास र वेदकोट नगरपालिकाका प्रमुखहरू अहिले समाजवादीमा लागेका छन् ।  गठबन्धन दलबीच भागबन्डा को मोडालिटीमै सहमति हुन सकेको छैन ।

(धनगढीबाट डीआर पन्त र अर्जुन शाह, बझाङका वसन्तप्रताप सिंह र कञ्चनपुरका भवानी भट्टको सहयोगमा)

स्थानीय तह निर्वाचन २०७९

प्रदेश

Link copied successfully