कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
एकीकृत समाजवादीको घोषणापत्र

३ सय युनिट बिजुली र ५ हजार लिटर पानी निःशुल्क

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) ले ‘जनमुखी स्थानीय सरकार : विकास र समृद्धिको आधार’ मुख्य नारासहित स्थानीय तह निर्वाचनका लागि मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक गरेको ४८ पृष्ठको घोषणापत्रमा सामाजिक र आर्थिक विकासलाई विभिन्न नारामा समेटिएको छ । पार्टी निर्माणपछि पहिलोपटक चुनावी प्रतिस्पर्धामा सहभागी हुन लागेको नेकपा एसले स्वास्थ्य सेवालाई बढी प्राथमिकता दिएको छ ।  

३ सय युनिट बिजुली र ५ हजार लिटर पानी निःशुल्क

‘जनताको अधिकार : निःशुल्क स्वास्थ्योपचार’ नाराअन्तर्गत स्थानीय सरकारको बजेट सबैभन्दा बढी स्वास्थ्य सेवामा खर्च गरिने उल्लेख छ । जटिल प्रकृतिको शल्यक्रियाबाहेक अन्य उपचार स्थानीय स्वास्थ्य केन्द्रबाट निःशुल्क गराउने व्यवस्था घोषणापत्रमा समेटिएको छ । सबै पालिकामा एम्बुलेन्स सेवा उपलब्ध गराउने, स्वास्थ्य जीवन बिमा, घुम्ती स्वास्थ्य शिविर, मोबाइल नर्सिङ, टेलिमेडिसिनलाई सहज बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

सार्वजनिक शिक्षामा जोड दिनेदेखि गुठी र सहकारीमा जान चाहने निजी विद्यालयलाई विशेष सुविधा दिने विषय समेटिएका छन् । विद्यावारिधि गर्नेलाई २ लाख रुपैयाँसम्म सहयोग गर्ने प्रतिबद्धता छ । कक्षा १२ सम्मको पाठ्यक्रम सुधार गर्ने, सीपमूलक, प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखिने चुनावी घोषणापत्रमा उल्लेख छ । कृषि, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उच्च शिक्षा हासिल गर्नेलाई स्थानीय सरकारले छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

प्रत्येक महिना एक घरपरिवारलाई ५ हजार लिटर पानी र २ सय युनिट निःशुल्क बिजुली उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ । ‘स्थानीय सरकारमार्फत हरेक घरपरिवारलाई वार्षिक रूपमा ३०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिनेछ ।’

कृषिको व्यावसायिक कार्यक्रमका लागि १६ बुँदे योजना पार्टीले सार्वजनिक गरेको छ । ‘संरक्षित कृषि बजार : किसान जीवनमा बहार’ अन्तर्गतका कार्यक्रममा कोल्डस्टोर निर्माणदेखि रासायनिक मल कारखाना स्थापनासम्मका विषय छन् । बिदेसिएका युवालाई कृषि उत्पादनमा प्रोत्साहित गर्ने योजना पनि राखिएको छ । ‘बिदेसिएका युवालाई स्वदेश फर्काऔं : कृषि उत्पादनमा वृद्धि गरौं’ नारा तय गरेको एकीकृत समाजवादीले युवा तथा महिला कृषकलाई तालिम, सरल कर्जा दिने प्रतिबद्धता जनाएको छ । सामूहिक र सहकारी खेतीलाई प्रोत्साहित गर्न मालपोत र कर छुटको व्यवस्था, खेत बाँझो राख्न नपाइने विषयलाई कडाइका साथ लागू गर्ने उल्लेख छ ।

‘हाम्रा युवा हामीसँगै’ भन्ने नारामा ऊर्जाशील, दक्ष र बौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने र आफ्नै गाउँसहरमा रोजगारीका अवसर सिर्जनामा उच्च प्राथमिकता दिइएको छ । ‘हरियालीयुक्त र सफा सहर’ को अवधारणाअनुसार हरेक पालिकाको भूगोलभित्र पर्ने राजमार्ग र सहायक मार्गको दायाँ–बायाँ फलफूलका बिरुवा लगाई सडकको सौन्दर्य बढाउने र तिनको संरक्षण गर्ने दायित्व सम्बन्धित पालिकाको हुने भनिएको छ । ‘मेरो सहर म बनाउँछु’ उद्घोषका साथ सफा, सुरक्षित, हरियालीयुक्त सभ्य सहर बनाउने संकल्प पनि उक्त पार्टीले राखेको छ ।’

हरेक पालिकामा आवश्यक उपकरण तथा सुविधासहित ‘ई–लाइब्रेरी’ सञ्चालन गरिने विषय घोषणापत्रमा उल्लेख छ । फोहोर बन्नेछ मोहर : सफा गाउँ सहर, सडक सञ्जाल : विकास निर्माणको पूर्वाधार, जातीय छुवाछूत मेटाऔं : मानव मर्यादा कायम गरौं, सामाजिक विकासका लागि साहित्य, कला र संस्कृति, बालबालिका विशेष कार्यक्रमको नारा पनि अघि बढाइएको छ । ‘हरेक पालिकाहरूले आफ्नो पालिकाभित्रका सडक र यातायातका लागि गुरुयोजना बनाई लागू गर्नेछन्,’ घोषणापत्रमा छ, ‘पालिकाको योजनाबिना जथाभावी सडक बनाई कृषियोग्य जमिन समाप्त गर्ने तथा पर्यावरण बिगार्ने कामलाई कडाइका साथ निरुत्साहित गरिनेछ ।’

ज्येष्ठ नागरिकको सम्मान : समुदायको सान, महिलाको हित : घरपरिवार सुरक्षित नाराका साथै, तेस्रो लिंगी र अल्पसंख्यक लैंगिक समुदाय, अपांगता भएका व्यक्तिको हकहितका विषय पनि घोषणापत्रमा समेटिएका छन् ।

पानीका स्रोत संरक्षणका लागि विशेष योजना, पर्यटन विकासमा स्थानीय सरकार, दिगो विकासका लागि एकीकृत र समन्वयात्मक योजना, आधुनिक प्रविधिको उच्चतम प्रयोगका कार्यक्रम अघि बढाइएको छ । विभिन्न कामको सिफारिस सन्दर्भमा पालिकाबाट लिने शुल्कलाई न्यूनतम सीमामा झार्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ । यस्तै, मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिने प्रतिबद्धता जनाइएको छ ।

‘जथाभावी मदिरा सेवनले मानिसको सम्पत्ति सकिने, परिवारमा झैझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक छ,’ घोषणापत्रमा भनिएको छ ।

प्रकाशित : वैशाख ७, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×