चुनावमा एक गिलास रक्सी र दुई चोक्टा मासुको लोभमा नपर्नुस् : भट्टराई

'राजनीतिक रुपमा अघि बढिसक्यौं, चुनाव स्थगत हुँदैन'

वैशाख ६, २०७९

हरिराम उप्रेती

गोरखा — पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । 

मंगलबार जसपा गोरखाको आयोजनामा गोरखा सदरमुकाममा भएको आमसभालाई सम्बोधन गर्न आएका नेता भट्टराईले पत्रकारसँगको कुराकानीमा चुनाव सर्ने आशंकामा नपर्न आग्रह गरे ।

‘राजनीतिक रुपमा अघि बढिसक्यौं, स्थगत हुँदैन,’ उनले भने, ‘कानुनी ढंगले भयो भने के लाग्यो र, अघि बढिसक्यौं राजनीतिक रुपमा शंसय छैन ।’ 

नेकपा एमालेले वैशाख ३० गते हुने निर्वाचन सार्न सरकारले षड्यन्त्र गरिरहेको भन्दै आरोप लगाइरहँदा नेता भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यस्तै उनले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दल बाहिर तालमेल गर्दा नैतिकता नदेखिने बताएका थिए । ‘सत्ता गठबन्धन दल बाहिर तालमेल नगरौं भन्ने छ । हुँदै हुँदैन भन्ने होइन, राजनीतिमा नैतिकताको पनि अर्थ रहने भएकाले सत्ता गठबन्धन बाहिर तालमेल गर्दा नैतिकता देखिँदैन,’ उनले भने ।

यस्तै निर्वाचनमा विभिन्न स्वार्थ समूहले प्रलोभनमा पार्न सक्ने भन्दै उनले त्यस्ता प्रलोभनबाट सचेत रहन कार्यकर्तालाई आग्रह गरेका थिए । साथै राष्ट्रवादको ठूला नारा लगाउनेसँग पनि सचेत रहनुपर्ने उनको भनाइ छ ।

‘जनतालाई लुटेर, अकूत सम्पत्ति कमाएर काठमाडौंमा महल खडा गरेर सन्तानलाई विदेश पठाउने अनि यहाँ चुनावका बेला राष्ट्रवादका ठूला नारा लगाएर एक गिलास रक्सी र दुई चोक्टा मासुमा लोभ्याइ भोट चोरेर जाने मान्छेहरु फेरि आउन सक्छन्,’ उनले भने, ‘तपाइँहरुलाई लाग्न सक्छ, तिमीहरुको को पो के भरोसा ? आत्मा साक्षी राखेर भन्छु बाबुरामलाई अनेक आरोप लगाउन सक्छन्, तर बेइमान र धोधाधडीको आरोप लगाउन कसले सकेको छैन, चुनावमा हुने नहुने कुरा गरेर भोट चोर्ने काम हामीबाट हुँदैन ।’

आफूहरूले मधेस र पहाडलाई जोडेर सच्चा राष्ट्रिय एकता कायम गरेर देखाउने पनि उनले बताए । ‘बावुराम मान्छे त ठीकै हो तर मधेसतिर गयो भनेको सुन्नुभएको छ होला,’ उनले भने, ‘मधेस हाम्रो होइन, अनि मधेसीलाई अनेपाली, विदेशी भन्ने यही हो न्याय ? यसरी देश एकताबद्ध हुन्छ ?,’ उनले भने, ‘हिमाल, पहाड सबै जनता नेपाली हुन्, हिमाल र तराइ जोड्न म मधेस गएकै हो, उपेन्द्र यादव पहाड आउनुभएकै हो ।’

स्थानीय तह निर्वाचन २०७९

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully