तनहुँ — आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्तारुढ दलहरूबीच स्थानीय तहको सिट भागबण्डा नमिल्दा जिल्लामा गठबन्धन जटिल बन्दै गएको छ । गठबन्धनका दलहरुबीच भागबण्डा नमिल्दा जिल्लामा गठबन्धन टुट्ने खतारा बढेको छ ।
जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाको ८५ वटा वडासम्मै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तनहुँबीच नेतृत्वको भागबण्ड गरी निर्वाचनमा जान पटक–पटक बैठक बस्ने गरे पनि बैठक निष्कर्षविहीन बन्दै आएको छ ।
नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा गठबन्धनको बैठक बसे पनि सिट बाँडफाँटको विषयमा सहमति नजुट्दा बैठक निष्कर्षविहीन भएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।
उनले भने, ‘बैठक निष्कर्षविहीन भए पनि यसलाई निरन्तरता दिने सहमति भएको छ । तर, बैठक कहिले बस्ने भन्ने टुङ्गो भने लागेको छैन ।’
कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका पालिकासहित थप एक पालिकाको प्रमुख नेतृत्व दाबी गरेको छ । २०७४ को निर्वाचनमा १० पालिकामध्ये नेपाली कांग्रेसका उम्मेदवारहरूले व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिका गरी ५ पालिकामा प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
शुक्लागण्डकी नगरपालिकाको प्रमुख र देवघाट गाउँपालिकाको उपाध्यक्ष पदमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका थिए । गठबन्धनमा कांग्रेसले यी पालिकासहित थप भिमाद नगरपालिकाको प्रमुखको सिट पनि पाउनुपर्ने दाबी गर्दै आएको छ ।
‘गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषय जटिल र बोझिलो बन्दै गएको छ,’ सचिव खनालले भने ‘गठबन्धनको मर्म विपरित आफ्नो हैसियतभन्दा बढी सिट मागिएको हुँदा समस्या आएको हो । अबको बैठकले यो समस्या समाधान गर्न सक्छ कि !’
बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले माग गरेअनुसारका पालिका दिन नसकिने कांग्रेसले बताउँदै आएको छ । कांग्रेस तनहुँले आफूले जितेका पालिकाको नेतृत्व आफैसँग सुरक्षित राखेर अन्यमा छलफल गर्न सकिने बताएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले बन्दिपुर, आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको प्रमुख माग गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सहसचिव अतेन्द्रकेशरी न्यौपानले बताए । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले बन्दिपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको थियो ।
न्यौपानेले भने ‘घिरिङ र देवघाट गाउँपालिकामध्ये एक पालिकाको अध्यक्ष तथा भानु र भिमाद नगरपालिकाको उपप्रमुख पद हामीले दाबी गरेका छौं ।’ बैठकमा सबैले आ–आफ्नै हिसावले दाबेदारी गर्ने कुरा भइरहेको छ । गठबन्धनमा प्रतिबद्ध रहने सहमति पनि भएको छ । तर, व्यवहारिक रुपमा कार्यान्वयनको चरणमा पुग्न नसकिएको उनले बताए ।
यस्तै, नेकपा एकीकृत समाजवादीले भिमाद, शुक्लागण्डकी र भानु नगरपालिकाको प्रमुख पद दाबी गरेको पार्टीका सचिव श्रीराम कार्कीले बताए । तीन नगरपालिकाको प्रमुखसहित व्यास नगरपालिका, ऋषिङ, देवघाट, म्याग्दे र घिरिङ गाउँपालिकाको उपप्रमुख र उपाध्यक्षको सिटमा पनि दाबी रहेको उनले बताए ।
समाजवादीले जिल्लाका १० वटै पालिकाको वडा तहसम्म संरचना भएका ठाउँमा प्रत्येक वडामा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने समेत माग गरेको छ । सचिव कार्कीले भने, ‘यदि गठबन्धन नभएमा मिल्न तयार अन्य दललाई लिएर जाने, त्यो पनि नभए एकल रुपमा भए पनि निर्वाचनमा जाने हामीले आन्तरिक तयारी गरिसकेका छौं ।’
