मदिरा सेवन गर्नेले पालिकाबाट अनुमति लिनुपर्ने, रैथाने रक्सी विदेश निर्यात गरिने
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) पार्टीले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा देशभित्र मदिरा सेवनलाई निरुत्साहित गर्ने तर रैथाने मदिराको उत्पादन गरेर विदेश निर्यात गर्ने नीति उल्लेख गरिएको छ ।
घोषणापत्रको बुँदा नम्बर ३.३७ मा देशभित्र मदिरा सेवनलाई निरुत्साहित गर्नुपर्ने विषय उल्लेख छ । जसमा मदिरा सेवन गर्नेहरूलाई कार्डको व्यवस्था गर्ने विषयमा मात्रै उल्लेख छैन, जथाभावी मदिरा सेवनले मानिसहरुको सम्पत्ति सकिने, परिवारमा झैझगडा हुने र मदिरा पिएर विभिन्न विकृति र अपराधका काम हुने गरेकाले कडाइपूर्वक नियन्त्रण गर्न आवश्यक रहेको विषय पनि उल्लेख छ ।
मदिराको हानीबारे सचेत देखिएको पार्टी घोषणापत्रको बुँदा नम्बर ४.३ मा भने स्थानीय तथा रैथाने पेय पदार्थ उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्नुपर्ने विषयलाई जोड दिएको छ । बुँदा नम्बर ३.३७ मा मदिरा सेवन निरुत्साहित गर्नुपर्ने मान्यता राख्ने पार्टी बुँदा नम्बर ४.३ मा आइपुग्दा नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरुले रुचिपूर्वक सेवन गरेको उल्लेख गर्दै यस्ता माल–वस्तुको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आवश्यक रहेको निष्कर्षमा पुगेको छ ।
एकीकृत समाजवादी पार्टीले मुलुकभित्र मदिरा सेवनमा कडाइ गरिने उल्लेख गरे पनि रैथाने रक्सी उत्पादनमा भने जोड दिएको छ । नेपाली रक्सीले विदेशीको मन जित्न सकेको उल्लेख गर्दै समाजवादीले विदेश निर्यातमा जोड दिएको छ ।
सम्बन्धित समाचार
