काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेकै दिन उम्मेदवारहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएको छ । मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा समाजवादीले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउने उल्लेख गर्दै घोषणापत्रमा जनताले सुशासनको पहिलो अनुभूति स्थानीय सरकारकै माध्यमबाट पाउने बताएको हो
स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त तथा सुशासनका केन्द्र बनाउनका लागि विशेष अनुगमन गरी आवश्यक उपाय अवलम्बन गर्ने समाजवादीको घोषणापत्रमा उल्लेख छ ।
एकीकृत समाजवादीको घोषणापत्रमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन हाम्रा उम्मेदवारहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने छन् । स्थानीय सरकारको प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षमा निर्वाचित हाम्रा जनप्रतिनिधिहरूले निर्वाचित हुनुअघि कुनै कारोवार वा व्यवसाय गरेका रहेछन् र सो व्यवसायको कार्यकारी जिम्मा लिएका रहेछन् भने आफ्नो कार्यकालभरि आफूलाई सो व्यवसायको कार्यकारी जिम्माबाट अलग भएको घोषणा गर्ने छन् ।’
त्यस्तै भड्किलो जीवनशैली भ्रष्टाचारको एक प्रमुख कारक रहेको कुरालाई मनन गर्दै आफ्ना जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिने पनि समाजवादीको घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै केन्द्रदेखि स्थानीय तहसम्म भएका भ्रष्टाचारका घटनाहरू, विभिन्न घोटाला काण्डहरूको तत्काल छानबिन गरी दोषीहरूलाई कडाभन्दा कडा कारबाही गरिने पनि समाजवादीको घोषणापत्रमा उल्लेख छ ।
यस्तो छ एकीकृत समाजवादीको घोषणापत्र
