'गठबन्धनप्रतिको इमानदारितालाई कमजोरी ठाने एक्लै चुनाव लड्न तयार छौं'

वैशाख ६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको चुनावी घोषणापत्र सार्वजनिक गर्दै गठबन्धनलाई संसदीय चुनावसम्म लैजाने तर आफ्नो इमानदारितालाई कमजोरी ठाने एक्लै भए पनि निर्वाचनमा लड्न तयार रहेको उल्लेख गरेको छ ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक गरेको घोषणापत्रमा ‘आकाशमा प्रतिगमनको कालो छाया पुनः आउन सक्ने संभावनाका कारण मात्र गठबन्धनलाई जोड दिइरहेको उल्लेख छ । 

घोषणापत्रको पहिलो बुँदामै  पार्टीको जन्म कसरी भयो भन्ने प्रसंग उल्लेख गर्दै एमालेसँगको  विद्रोहको बाध्यताबारे उल्लेख गरेको छ । कम्युनिस्ट विचार, सिद्धान्त, आचरण र कार्यशैलीबाट च्युत भएको नेतृत्वलाई सुधार्न नसकिने अवस्थामा कम्युनिस्ट आन्दोलन जोगाउन विद्रोह गरेको घोषणापत्रमा उल्लेख छ । 

घोषणापत्रमा गठबन्धन गर्नुपर्ने बाध्यता के हाे भन्नेबारे पनि उल्लेख छ । 'नेपाली जनताले सात दशक लामो संघर्षबाट संविधानसभामार्फत घोषणा गरेको समाजवाद उन्मुख प्रावधानसहितको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि नै यो गठबन्धन बनाइएको हो । यो गठबन्धन निर्माणमा हाम्रो निर्णायक भूमिका रहेको छ' घोषणा पत्रमा छ । 

राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि आक्रमणको खतरा अझै पनि कायमै रहेको नेकपा (एस)को ठहर छ । 'एक पटकका लागि तीनवटै तहका निर्वाचनमा सँगै मिलेर जानुपर्दछ भन्ने हाम्रो विश्लेषणका आधारमा नै हामी वर्तमान गठबन्धनलाई अझै बलियो बनाउन चाहन्छौं । गठबन्धनलाई बलियो बनाएर लैजानका लागि हाम्रो अधिकतम प्रयास रहनेछ । वर्तमान गठबन्धनलाई आगामी संसदीय निर्वाचनमा समेत सँगै लैजानका लागि हाम्रो पार्टी पूर्णतः इमानदार छ । हाम्रो इमानदारीलाई कसैले कमजोरी ठान्छ भने हामी गठबन्धनको सहयात्रालाई सम्मान गर्दै एक्लै चुनावमा जान पनि तयार छौं' घोषणा पत्रमा छ । 

देशको आकाशमा प्रतिगमनको कालो छाया पुनः आउन सक्ने सम्भावनाका कारणले मात्रै गठबन्धन सहितको चुनावी अभियानलाई जोड दिइरहेकाे उल्लेख छ । 'जस्तोसुकै परिस्थिति आइलागे पनि हामी लोकतन्त्र, राष्ट्रियता र जनजीविकाको अभियानमा निरन्तर अगाडि बढ्न प्रतिबद्ध छौं । आगामी निर्वाचन अभियानलाई हामी यसै हिसाबले अगाडि बढाउन दृढ छौं' घोषणा पत्रमा छ ।

 पूर्णपाठ

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully