ललितपुरमा जितेको मेयर मै हुँ, जित्ने पनि मै हुँ : चिरिबाबु महर्जन- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरमा जितेको मेयर मै हुँ, जित्ने पनि मै हुँ : चिरिबाबु महर्जन

'गठबन्धनले गरेको भागबन्डा मान्छौँ'
कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबन्डा आफूहरुले मान्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफूहरुले मान्ने बताएका हुन् ।

उनले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बताए ।

ललितपुर महानगरपालिकाको मेयर र उपमेर आफूहरुले राख्ने उनले बताए । त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरु पनि आफूहरुलाई राख्ने र बाँकी रहेको १९ वटा वडामा पनि आफूहरुले ५० प्रतिशत लिएर भागबन्डा गर्ने उनले बताए।

‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ। ललितपुर हामी छोड्दैनौँ । हामीले त जितेको ठाउँ हो नि त । छोड्ने भन्ने त प्रश्नै आउँदैन । मेयर उपमेयर हामी राख्छौँ । २९ वडामा १९ वडा भागबन्डा गर्छौँ । १० वडा हामी नै राख्छौँ । भागबन्डा गर्दाखेरी हामी घटीमा पनि ५० प्रतिशत लिन्छौँ । मैले पाउँछु फरकै पर्दैन । जितेको मेयर मै हुँ । जित्ने पनि मै हुँ । गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरश पालना गर्छौँ ।’

ललितपुर महानगरपालिकामा मेयरको उम्मेदवार आफू नै भएको पनि महर्जनको भनाइ थियो । आफूले नै मेयरको टिकट पाउने उनको दाबी थियो ।

प्रकाशित : वैशाख ६, २०७९ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्

महानगरको सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख पद दलहरूबीच भागबन्डा गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले छ महानगरपालिका र ११ उपमहानगरपालिकामा तालमेलको मोडेल तयार गर्ने नेताहरूको दाबी छ । तालमेलबारे सोमबार पनि नेताहरूले छलफल गरेका थिए ।

तर, कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको मेयर नछोडेपछि सहमति हुन सकेको थिएन । शीर्ष नेताहरूबीच गठबन्धनका पाँच दलमध्ये कांग्रेसले तीन महानगरको मेयर लिने र माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक–एक वटा महानगरको मेयर लिने समझदारी बनिसकेको छ ।

यसअघि गठबन्धनले नै बनाएको गत निर्वाचनमा जहाँ जसले जितेको छ, त्यो स्थानीय तहको प्रमुखमा त्यही पार्टीको उम्मेदवार बनाउने मापदण्डअनुसार कांग्रेसले ललितपुर र विराटनगर स्वतः पाएको छ भने कांग्रेसले काठमाडौं पनि आफ्नो भागमा राखेको छ । माओवादी केन्द्रले जितेको भरतपुर महानगरपालिका माओवादीलाई नै दिन नेताहरू तयार देखिएका छन् भने जसपाले जितेको वीरगन्ज उसकै भागमा छ । गत निर्वाचनमा एमालेले जितेको पोखरा महानगरका विषयमा दलहरू विवाजित भएका हुन् । भर्खरै गठन भएको दल एकीकृत समाजवादीको नेतृत्वमा कुनै पनि महानगर छैनन् ।

गत निर्वाचनमा पोखरामा एमालेले जितेको थियो । एमाले फुटेर बनेको एकीकृत समाजवादीले आफ्नो उम्मेदवार भए एमालेको भोट काटिने र गठबन्धनले जित्ने दाबी गर्दै पोखराको मेयरमा दाबी गरेको हो । तर, कांग्रेसका स्थानीय नेता कार्यकर्ताको निर्णय विपरीत हुने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको बैठक दाबी नछाडेपछि महानगरको सिट बाँडफाँट टुंगिएको छैन ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मात्रै कांग्रेसले मेयर पाउनुपर्ने दाबी हुँदै आएका भरतपुर र पोखराका नेताहरूसँग छलफल गरेका छन् । त्यसक्रममा देउवाले नेताहरूलाई गठबन्धन गर्नुपर्ने बाध्यता रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

बैठकमा सहभागी एक नेताले मंगलबार महानगरपालिकाको सिट बाँडफाँट टुंगो लाग्ने सम्भावना रहेको बताए । ‘छलफल चलिरहेको छ । मिलिसकेको छैन,’ बैठकमा सहभागी एक नेताले भने ।

प्रकाशित : वैशाख ६, २०७९ १७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×