कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकाका २१ पालिकामध्ये १७ मा निर्वाचन अधिकृत महिला 

मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले सोमबार र मंगलबार धुलिखेलमा निर्वाचन अधिकृत र निर्वाचन अधिकारीका लागि तालिम आयोजना गर्‍यो । वाग्मती प्रदेशका पालिकामा निर्वाचन गराउने अधिकारीहरू तालिममा सहभागी थिए । समापनपछि जिल्ला–जिल्लाबाट आएकाहरू फोटो खिचाउन थाले ।

उपत्यकाका २१ पालिकामध्ये १७ मा निर्वाचन अधिकृत महिला 

काठमाडौं उपत्यकामा खटिनेको मात्रै पनि फोटो खिच्नुपर्ने प्रस्ताव आयो । यो प्रस्ताव ललितपुरको वाग्मती गाउँपालिकाका निर्वाचन अधिकृत नरेन्द्रकेशरी पोखरेलले राखेका थिए ।

फोटो खिचाउने क्रममा ‘हाँसको बथानमा बकुल्ला जस्तो एक जना मात्रै पुरुष अधिकृत’ भन्दै एकापसमा ठट्टासमेत चल्यो । ‘उपत्यकामा त म मात्रै पुरुष निर्वाचन अधिकृत रहेछु । ऐतिहासिक फोटो हुने भएकाले खिच्न मैले प्रस्ताव नै राखें,’ उच्च अदालत पाटनका उपरजिस्ट्रारसमेत रहेका पोखरेलले भने, ‘बुढो मान्छे भएर मलाई पुरुष भए पनि उपत्यकामा राखेको हुन सक्छ ।’ आयोगले उपत्यकामा महिलालाई प्राथमिकता दिएर निर्वाचन अधिकृत बनाएकामा राम्रो लागेको उनले बताए । आयोगले काठमाडौं उपत्यकाभित्रको २१ पालिकामध्ये १७ वटामा महिलालाई नै निर्वाचन अधिकृत खटाएको छ । पोखरेल भने ललितपुरको वाग्मती गाउँपालिकामा खटिएका छन् ।

आयोगका अनुसार काठमाडौंको शंकरापुरमा सीता निरौला फुयाल, कागेश्वरी मनोहरामा कानुन मन्त्रालयकी शारदा राउत, कीर्तिपुर नगरपालिकामा कम्पनी रजिस्ट्रार कार्यालयकी कमला घिमिरे, गोकर्णेश्वरमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकी रञ्जु गौतम, चन्द्रागिरिमा वाणिज्यकै सिर्जना थपलियालाई जिम्मेवारी दिइएको छ । टोखा नगरपालिकामा महान्यायाधिवक्ता कार्यालयकी सविता शर्मा, तारकेश्वरमा अख्तियारकी चपला पोखरेल, दक्षिणकालीमा उच्च अदालत पाटनकी अमृताकुमारी शर्मा, नागार्जुनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पार्वती अर्याल र बूढानीलकण्ठमा राष्ट्रिय महिला आयोगकी चमिला भट्टराईलाई खटाइएको छ ।

त्यस्तै, भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड सचिवालयकी मैयाँ कँडेल, चाँगुनारायणमा फैसला कार्यान्वयन निर्देशनालयकी फणेश्वरी घिमिरे र सूर्यविनायकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रकी सरिताकुमारी खतिवडालाई खटाइएको छ । उनीहरू सबै उपसचिव हुन् । ललितपुरको कोन्ज्योसोममा सर्वोच्च अदालतकी देवकुमारी चौधरी, गोदावरी नगरपालिकामा उपसचिव श्रद्धा रिजाल, महालक्ष्मी नगरपालिकामा सर्वोच्च अदालतकी इजलास अधिकृत शारदा फुयाल र महांकालमा जिल्ला सरकारी वकिल कार्यालयकी सुशीला ज्ञवालीलाई खटाइएको छ ।

काठमाडौंमा जिल्ला न्यायाधीश राजुकुमार खतिवडा, भक्तपुरमा गोपाल बाँस्तोला र ललितपुरमा किरणप्रसाद सिवाकोटीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । खतिवडाले काठमाडौं महानगर, बाँस्तोलाले भक्तपुर नगरपालिका र सिवाकोटीले ललितपुर महानगरपालिकाको निर्वाचन गराउने जिम्मेवारी पनि पाएका छन् ।

महिलाले पनि महत्त्वपूर्ण तथा चुनौतीपूर्ण जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने सन्देश दिन उपत्यकाका सबैजसो पालिकामा महिलालाई नै निर्वाचन अधिकृत खटाइएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । ‘आयोगले राजनीतिक दललाई समावेशी बनाउनु, कानुन पालना गराउनु भन्छ, आयोगले नै पहिला गरेर देखाउनुपर्‍यो पनि । त्यसैले मतदाता धेरै भएको सहरी क्षेत्रकै निर्वाचन गराउने जिम्मेवारी महिलालाई दिएका हौं,’ उनले भने, ‘महिलाले अवसर पाए गरेर देखाउन सक्छन् भन्ने सन्देश दिन खोजेका हौं ।’

महिला निर्वाचन अधिकृतहरू पनि आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्न प्रतिबद्ध छन् । ‘नियुक्तिपत्र पाएकै दिनदेखि काम थालिसकेका छौं,’ मध्यपुर थिमि नगरपालिकामा खटिएकी मैयाँ कँडेलले भनिन्, ‘आयोगले दिएको जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लागिपरेका छौं । रातदिन खटेर काम गर्नुपर्छ । यो राम्रो काम गरेर देखाउने अवसर पनि हो ।’

निर्वाचन आयोगले राजनीतिक दललाई जारी गरेको सूचनामा उम्मेदवारमा पनि महिलालाई प्राथमिकता दिन आग्रह गरेको छ । लैंगिक समानता तथा सामाजिक समावेशिता नीति तेस्रो पञ्चवर्षीय योजनामा महिला सहभागी बढाउने योजना रहेको प्रवक्ता पौडेलले बताए ।

प्रकाशित : वैशाख ७, २०७९ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?