‘विकेन्द्रीकरण भन्ने, मेयर केन्द्रले तोक्ने ?’

‘संविधानमा संघीयता र विकेन्द्रीकरणको कुरा राख्ने तर भरतपुरको मेयर केन्द्रले तोक्ने ? यहाँका अधिकांश नेता, कार्यकर्ता, समर्थक र मतदाताको भावनाविपरीत गएर निर्णय गर्ने ?’

वैशाख ७, २०७९

रमेशकुमार पौडेल

चितवन — शिवप्रसाद रिमालले २०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसलाई भोट हालेका थिए । पञ्चायतकालका चुनावमा पनि उनी कांग्रेसले उठाएका कोही भए मत दिन जान्थे, नभए चुप लागेर बस्थे । भरतपुर महानगरपालिका–३ बेलचोक घर भएका रिमालले बहुदलकालमा रूखबाहेक अन्यत्र मत दिएका छैनन् । गएको स्थानीय चुनावमा पार्टीले माओवादीलाई मत दिन भनेको थियो । ‘हँसिया–हतौडामा त्यो बेला त हालिनँ, अहिले पनि हाल्दिनँ,’ उनले भने । 

रिमाल २० सालदेखि चितवन बस्दै आएका छन् । उनले यसपालि आफूले भनेर लाग्ने सबैलाई कांग्रेसको चुनाव चिह्न रूखबाहेक अन्यत्र मत नहाल्न अपिल गर्ने बताए । मंगलबार दिउँसो उनीसँग कुरा भइरहँदा भरतपुर महानगरमा मेयर पद माओवादी केन्द्रलाई दिने सहमति गठबन्धनले गरेको र औपचारिक निर्णय हुन मात्रै बाँकी रहेको समाचार आयो । रिमाल आक्रोशित भए, ‘संविधानमा संघीयता र विकेन्द्रीकरणको कुरा राख्ने तर भरतपुरको मेयर केन्द्रले तोक्ने ? यहाँका अधिकांश नेता, कार्यकर्ता, समर्थक र मतदाताको भावनाविपरीत गएर निर्णय गर्ने ?’ 

भरतपुर–३ कांग्रेसको राम्रो पकड भएको वडा हो । चितवन कांग्रेसको कार्यालय पनि वडा ३ कै कमलनगरमा छ । केही दिनयता सुनसान रहेको पार्टी कार्यालयमा मंगलबार पनि त्यस्तो चहलपहल थिएन । पार्टी कार्यालयदेखि केही पर बेलचोक पुलनजिक एउटा किराना तथा चिया पसलमा स्थानीय कांग्रेस समर्थक र कार्यकर्ताको राम्रै जमघट हुन्छ । त्यहाँ भेला भएका २०/२२ जना स्थानीय चुनावी सन्दर्भमै गफिँदै थिए । उनीहरू प्रायः सबै कांग्रेस समर्थक थिए । रिमाल पनि त्यहीं भेटिएका हुन् । ‘हाम्रो सभापतिलाई माओवादीले प्रधानमन्त्री बनाइदियो, त्यसैले माओवादीको कुरा मान्नुपर्छ भनेझैं लाग्यो । उहाँलाई पार्टीभन्दा पनि प्रधानमन्त्रीको पद पो ठूलो भयो,’ रिमालले भने । 

७८ वर्षका वंशराज तिमिल्सिना पनि कांग्रेसका पुराना समर्थक हुन् । पार्टीले भनेपछि अघिल्लो पटक उनले हँसिया–हतौडामा मत हाले । यो पटक उनको फरक विचार छ । ‘माओवादीलाई त हामीले पाँच वर्षअघि मत दिएको हो, अब त हामीले आफ्नै चिह्नमा मत राख्न पाउनुपर्‍यो नि,’ तिमिल्सिनाले भने, ‘ल गठबन्धन जोगाउनुपर्‍यो, यहाँ माओवादीलाई नै दिनुपर्छ भन्ने हो भने रेनुले रूख चिह्न नै लिएर उठे स्वागत छ ।’ 

गत स्थानीय तह निर्वाचनमा महानगर प्रमुखमा कांग्रेसले माओवादीलाई र उपप्रमुखमा माओवादीले कांग्रेसलाई सघाएका थिए । उपप्रमुखमा कांग्रेसकी पार्वती शाह ठकुरी भारी मतान्तरले विजयी हुँदा प्रमुखमा रेनु दाहाल झिनो मतान्तरले विजयी भएकी थिइन् । वडाध्यक्षमा पार्टीहरू आ–आफ्नो तरिकाले प्रतिस्पर्धा गरेका थिए । २९ वडा रहेको भरतपुरमा कांग्रेसले १२ र माओवादीले तीन वडाध्यक्ष जितेका थिए । बाँकी ठाउँमा एमालेले जितेको थियो । जिल्ला समन्वय समिति (जिसस) को चुनाव हुँदै गर्दा माओवादी र एमालेबीच प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल हुने निर्णय भयो । महानगर प्रमुख दाहालले जिससकै निर्वाचनमा एमालेलाई मत दिइन् ।

प्रतिनिधिसभाको चुनावमा एमालेसँग तालमेल गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भए । दाहाल विजयी भएको चितवन–३ मा भरतपुर महानगरको पश्चिम क्षेत्र र माडी समेटिएको छ । उक्त चुनावमा कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई समर्थन गरेको थियो । कांग्रेसका मतदाताले हलो चिह्नमा भोट हाले । सत्तारूढ गठबन्धन आउँदो प्रतिनिधिसभा र प्रदेशसभामा पनि कायम रहने चर्चा छ । त्यो बेला फेरि दाहाल उठ्ने र कांग्रेसले समर्थन गर्नुपर्ने अवस्था आउन सक्छ । ‘भरतपुरमा मतदाताले कांग्रेसको चुनाव चिह्नमा मत दिन नपाउने अवस्था फेरि पनि आउने अवस्था देखा पर्न थालेपछि कम्तीमा यो पटक मेयर पद कांग्रेसले नै पाउनुपर्छ भनेका हौं,’ चितवन कांग्रेसका जिल्ला सचिव सूर्य अर्यालले भने । 

महानगर प्रमुखमा अन्य चिह्नमा मत माग्न गाह्रो हुने कार्यकर्ता बताउँछन् । ‘हामी त पुरानो कांग्रेस परियो, पार्टीले जे भन्छ त्यही मानौं भन्ने होला तर जनता त्यस्ता छैनन्,’ नारायणगढ बाह्रघरेका ८२ वर्षीय प्रजापति सापकोटाले भने । एमालेले पनि राम्रै मान्छे उठाएको भनेर चर्चा चल्न थालेको हुँदा सामान्य मतदाताको रोजाइका बारेमा केही भन्न नसकिने उनले बताए । सर्वसाधारणसँग रूखमा नभएर अरूमा भोट माग्न असजिलो हुने भरतपुर–३ का वडा उपसभापति नारायण पौडेलले बताए । ‘माओवादीलाई भोट दिनुपर्ने हो भने अब हामीलाई पनि माओवादीकै सदस्यता कटाऊ भनेर सामान्य कार्यकर्ताले भन्न थालिसके,’ उनले भने । 

गोमलबहादुर खड्का पनि कांग्रेसका मतदाता हुन् । भरतपुर–३ कै बासिन्दा उनले गत चुनावमा माओवादीलाई मत दिएको सुनाउँदै अहिले पनि निर्णय भए मत दिन तयार रहेको बताए । ‘गठबन्धन गरेपछि दुई वटाले टिकट पाउँदैनन् । टिकट पाउनेलाई मत दिन्न भन्ने भएन,’ उनले भने । भरतपुरमा कुल मतदाता संख्या १ लाख ८५ हजार ७ सय ५२ छ । 

स्थानीय तह निर्वाचन २०७९

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully