काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेश र कास्कीका सभापतिसहितका नेताहरुलाई काठमाडौं डाकेका छन् ।
देउवाले बोलाएपछि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोर दत्त बराल र नेता यज्ञबहादुर थापा काठमाडौं आउँदैछन् । चितवन सभापति राजेश्वर खनाल भने हिजैदेखि काठमाडौंमै छलफलमा छन्।
स्थानीय तह निर्वाचनमा तालमेलका लागि अन्य महानगरमा सहमति जुटे पनि पोखराका कारण सत्ता गठबन्धनको सोमबारको बैठक अनिर्णीत बनेको थियो । गत निर्वाचनमा एमालेले जितेको पोखरा महानगरपालिका कांग्रेस र एकीकृत समाजवादी दुवैले दाबी गर्दा गठबन्धनको भागबन्डा टुंगो लाग्न नसकेको हो । यही विषयलाई टुंग्याउन देउवाले पोखरा र कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका हुन् ।
