सुस्ताए चुनावी गतिविधि

गठबन्धनको छैटौं बैठक पनि निष्कर्षविहीन, उम्मेदवारका आकांक्षी चुनावी तयारी छोडी निर्णय कुर्दै

वैशाख ६, २०७९

हरिराम उप्रेती

गोरखा — सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि संयन्त्र गठन भएपछि जिल्लामा चुनावी माहोल सुस्ताएको छ । वडा तहदेखिका उम्मेदवारका आकांक्षी जिल्लास्तरीय संयन्त्रको बैठक निर्णय कुरेर बसेका छन् ।

तालमेल सफल भए गठबन्धन दलबीच वडा तहदेखि नै भागबन्डा हुने भएपछि आकांक्षी चुनाव केन्द्रित गतिविधिमा भन्दा पनि गठबन्धनको निर्णय कुरेर बसेका छन् । चैत १७ को जिल्लास्तरीय संयन्त्र बनेर तालमेलको चर्चा भए पनि चुनावको माहोल भने गाउँमा नरहेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रोहित पाण्डेले बताए ।

‘एक चरण सबै दलका नेता कार्यकर्ता गाउँकेन्द्रित थिए, त्यो बेला चुनाव लागेको थियो,’ उनले भने, ‘गठबन्धनको हल्लापछि नेताहरू पनि गाउँ केन्द्रित छैनन्, कार्यकर्ता पनि गठबन्धनको निर्णय के हुन्छ भनेर कुरेर बसेका छन् ।’ चुनावका मुखमा पार्टीका आमसभा, कोणसभा, घरदैलोगायत सबै चुनावी गतिविधि सुस्ताएको उनले बताए । ‘यसअघिका चुनावमा उम्मेदवारी दर्ताअघि नै चुनावी चहलपहल सुरु हुन्थ्यो, यस पटक नभएको चाहिँ होइन, जति हुनुपर्ने थियो त्यति भएको छैन,’ उनले भने, ‘अहिले आफ्नै दलभित्र व्यवस्थापन गर्न नसकेको अवस्थामा गठबन्धनको हल्लाले माहोल नै अर्को ढंगमा जाला जस्तो देखिन्छ, गठबन्धनले तल्लो तहका जनता उत्साहित पनि छैनन् ।’ 

गठबन्धनमा रहेका दलले पनि वडा तहदेखि नै उम्मेदवार टुंग्याउन सकेका छैनन् । कांग्रेसले वडा सदस्य, वडा अध्यक्ष पालिका उपप्रमुख र प्रमुखकमा आकांक्षा राख्नेहरूको नामावली संकलन सकेको छ । तर तालमेल गर्ने तयारीले उमेदवारको अन्तिम टुंगो लगाएको छैन । माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी पार्टी पनि गठबन्धनको निर्णय नहुँदा उम्मेदवारको अन्तिम टुंगो लगाउन अलमलमा छन् । उम्मेदवार बिनै चुनावको प्रचारमा जान दलका नेता कायकर्ता उत्साहित देखिँदैनन् । ‘अहिले एक जनाका लागि भोट माग्यो, गठबन्धन भएर अर्को उम्मेदवार बने समय पनि व्यर्थ जान्छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘अहिले वडाध्यक्षमा उम्मेदवार सिफारिस भएकालाई तालमेल भए वडा सदस्यमा पठाउन पनि पर्न सक्छ ।’ तालमेलको चर्चाले चुनाव आउन २५ दिन बाँकी रहँदा उमेदवारका आकांक्षी अलमलमै छन् । चुनावी घोषणापत्र तयार पार्ने समयमा उमेदवारका आकांक्षी गठबन्धन दलको निर्णय कुरेर बसेका छन् ।

माओवादी केन्द्रले भने चुनाव केन्द्रीय अभियान भएकाले नरोकिएको जनाएको छ । ‘घरदैलो अभियान चलिरहेको छ, स्थानीय स्तरमा भइरहेको अभियान रोकिएको छैन,’ माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य अंकुर तिमल्सिनाले भने, ‘पार्टी केन्द्रको सर्कुलरअनुसार वडा तहको उमेदवार सिफारिस चलिरहेको छ, एक/दुई दिनमा पालिका अध्यक्षको पनि सिफारिस सुरु हुन्छ ।’ चुनावी तालमेलका लागि बनेको जिल्ला स्तरीय संयन्त्रको बैठक भने पटक–पटक निष्कर्षविहीन बन्दै आएको छ । दलहरू आ–आफ्नै अडानमा रहँदा तालमेल क्षीण हुँदै गएको जिल्लास्तरीय नेताहरू बताउँछन् । यसअघिको वैठकमा ३ पालिका प्रमुख दाबी गरेको जनता समाजवादी पाटि सोमबारको गठबन्धन बैठकमा लचिलो बन्दै दुई पालिका प्रमुखमा दाबी पेस गरेको थियो । 

बैठकमा माओवादी केन्द्र र कांग्रेसले सोमबार थप १/१ पालिका दाबी गरेका छन् । यसअघिको बैठकमा चार पालिका दाबी गरेको माओवादी केन्द्रले सोमबारको बैठकमा पाँच पालिका प्रमुखमा दाबी गरेको हो । कांग्रेस पनि ८ पालिका प्रमुखको अडानमा छ । सोमबारको बैठक निष्कर्षविहीन बनेपछि अर्को बैठक वैशाख ८ गतेका लागि सरेको छ । यसअघिको निर्वाचनमा नौ पालिका प्रमुख जितेको कांग्रेस यस पटक पनि बहुमत पालिका प्रमुख पाउनुपर्ने अडानमा छ ।

स्थानीय तह निर्वाचन २०७९

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully