सिन्धुली — स्थानीय तह निर्वाचनमा एमालेले चार गाउँपालिकाको अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । एमाले प्रचार विभागका अनुसार हरिहरपुरगढी गाउँपालिकामा मानबहादुर वाइवा, मरिण गाउँपालिकामा गोविन्दलाल माझी, गोलन्जोरमा शंकर बराल र घ्याङलेखमा चतुरमान लो सर्वसम्मत अध्यक्ष उम्मेदवारमा चयन भएका छन् ।
सर्वसम्मत भएको गाउँपालिकामा एकल नाम सिफारिस भइ स्वीकृत भएर आउने प्रचार विभाग प्रमुख सञ्जय दाहालले जानकारी दिए । जिल्लाका ९ पालिकामध्ये कमलामाइ नगरपालिका, दुधौली नगरपालिका, सुनकोसी गाउँपालिका, फिक्कल गाउ“पालिका र तीनपाटन गाउँपालिकामा आकांक्षीहरु बढी भएकाले प्रदेशमा पठाइने छ । ७९ वटा वडामध्ये ४७ मा सर्वसम्मत वडाध्यक्ष लगाएतका उम्मेदवार चयन गरिएको एमालेले जनाएको छ ।
मनोनयन दर्ता हुन ४ दिन बाँकी रहँदा गठबन्धनले भने कुनै पनि पालिकामा सर्वसम्मत गर्न सकेको छैन । दैनिकजसो हुने बैठक निष्कर्षविहीन बनेका छन् । गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले भने मेयर तथा अध्यक्ष लगाएत पदका आकांक्षीहरुको नाम संकलन गरी प्रदेशमा पठाउने तयारी गरेको छ । कांग्रेस सचिव इश्वर बस्नेतका अनुसार गठबन्धनको तालमेलमा पालिका भागबण्डा मिलिसकेको र वडा मिलाउन बाँकी रहेको छ । कुन पालिका कसको भागमा भन्ने उनले खुलाएनन् । ०७४ को निर्वाचनमा विजयी भएका पालिकामा कांग्रेस, माओवादी केन्द्रले नेतृत्व गर्ने र एमालेले जितेको पालिका भागवण्डा गर्ने सहमति भएको उनले बताए ।
यसअघिको स्थानीय स्थानीय निर्वाचनमा जिल्लाका ९ पालिका भागवण्डा गरेजसरी तीनवटा ठूला दल एमाले,कांग्रेस र माओवादी केन्द्रले तीन/तीनवटामा जित हात पारेका थिए ।
