रुकुम पश्चिम — आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोल्पामा सत्ता गठबन्धन दलहरूबीच तालमेल नहुने भएको छ । सत्ता गठबन्धन दलहरूबीचको छलफलमा सहमति जुट्न नसकेपछि दलहरूले गठबन्धनको सम्भावना सकिएको निर्णय केन्द्रमा पठाएका छन् ।
गठबन्धनमा आबद्ध दलहरूले सदरमुकामस्थित ठूलीभेरी नगरपालिकालाई प्रतिष्ठाको विषय बनाएपछि शनिबार गठबन्धनमा थप छलफल हुन सकेन । नगरपालिकामा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सबैको दाबी छ । छलफलको सुरुमै तीन राजनीतिक दलले ठूलीभेरी नगरको प्रमुखमा दाबी प्रस्तुत गरेका थिए । एकले अर्को दललाई नगरप्रमुखमा सहयोग नगर्ने बरु आफ्नै पार्टीलाई सहयोग गर्न भनेपछि अरु विषयमा छलफल नै हुन नसकी बैठक सकिएको थियो ।
एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य बबिकिशोर गुरुङले केन्द्रीय गठबन्धनले तोकेको समयसीमा भित्र गठबन्धन गर्ने गरी जिल्लामा निर्णय हुन नसकेको बताए । उनका अनुसार शनिबारसम्मका लागि केन्द्रीय गठबन्धनले उम्मेद्वारहरूको नाम सिफारिस गनै जिल्लास्तरीय संयन्त्रलाई परिपत्र गरेको थियो । सबै दलको दाबी ठूलीभेरी नगरपालिकामा भएपछि थप छलफल अघि बढ्न नसकेको गुरुङको भनाइ छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोल्पा इञ्चार्ज रामलाल विकले जिल्लामा गठबन्धन हुन नसक्ने अवस्था लेखेर केन्द्रीय गठबन्धनमा पठाइएको बताए । उनका अनुसार अडान एउटै भएपछि बैठक बिना निष्कर्ष सकिएको थियो । निर्वाचनको मिति नजिक आइरहेकाले त्यसमा जुट्ने र एक्लाएक्लै प्रतिस्पर्धा गर्ने योजनामा सबै दल देखिएको उनको भनाइ छ ।
ठूलीभेरी नगरपालिकामा अहिले एकीकृत समाजवादीका नेता प्रमुख छन् । एमालेबाट मेयर जितेका गणेशबहादुर शाही पछि एकीकृत समाजवादीमा लागेका थिए । राप्रपाबाट उपमेयर जितेका योगेन्द्रबहादुर शाही हाल कांग्रेसमा छन् । २०७४ मा डोल्पामा एमाले र राप्रपा तथा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए । ८ स्थानीय तह रहेको डोल्पामा २ वटा गाउँपालिकामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी बनेका थिए ।
