कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
स्थानीय तह निर्वाचन

रोल्पामा माओवादी एक्लै लड्ने पक्षमा, कांग्रेसले माग्यो आधा हिस्सा

सबै तहमा प्रमुख र उपप्रमुखसहित ५८ वटा वडामा एक्लै निर्वाचनमा जित माओवादीको प्रारम्भिक सर्वेक्षण
काशीराम डाँगी

रोल्पा — रोल्पामा आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धनको टुंगो नलाग्दा उम्मेदवार छनोट प्रक्रिया प्रभावित भएको छ । पहिले गठबन्धनको टुंगो लागेपछि मात्रै पार्टीका उम्मेदवार छनोटमा सहज हुने स्थानीय नेताको भनाइ छ । जिल्लामा गठबन्धनको मुख्य दल माओवादी केन्द्रले सहयात्री दलहरुबीच समन्वय र निरन्तर सम्पर्क गर्दै आएको छ ।

रोल्पामा माओवादी एक्लै लड्ने पक्षमा, कांग्रेसले माग्यो आधा हिस्सा

तर गठबन्धनका सन्दर्भमा जिल्ला तहमा मात्रै छलफल भइरहेकाले स्थानीय तहमा यसबारे खासै जानकारी पुग्न सकेको छैन । माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र घर्ती मगरको संयोजकत्वमा कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चाका प्रतिनिधि रहेको गठबन्धन कार्यदल निर्माण गरिएको छ । गत चैत २० मा गठन गरिएको उक्त संयन्त्रले अझैसम्म ठोस मोडल तयार पार्न सकेको छैन । अहिलेसम्म चार पटक संयुक्त बैठक बसिसकेको छ । तर बैठक अलमलमै टुंगिएको छ ।

गठबन्धनका संयोजक माओवादी केन्द्रका जिल्ला अध्यक्ष घर्तीमगरले गठबन्धनप्रति विश्वास दिलाउन र मुख्य निर्णयमा पुग्न निरन्तर लागिपरेको बताए । ‘बैठक बसेर विविध विषयमा छलफल गर्दै आएका छौं । कसको कति मतभार छ भन्ने दृष्टिकोणबाट छलफल हुने गरेको छ । दुई चार दिनमा टुंगोमा पुग्न सकिएला ।’

गठबन्धन हुने विषयमा छलफल चलिरहेका बेला कांग्रेस रोल्पाले विज्ञप्तिमार्फत नयाँ सर्त अघि सारेपछि थप अन्योल उत्पन्न भएको हो । कांग्रेसले आधा हिस्सा मागेपछि गठबन्धनभित्रका दलहरूमा झन् अविश्वास उत्पन्न भएको अवस्था छ । यसबारे माओवादी केन्द्रका अध्यक्ष घर्तीमगर भन्छन्, ‘उहाँहरुले छलफल भइरहेका बेला विज्ञप्ति निकालेर भिन्न परिस्थिति ननिम्त्याएको भए राम्रो हुने थियो । यसबारे छलफल गरेरै टुंगोमा पुग्न सकिन्छ ।’

सबै तहमा प्रमुख–उपप्रमुख जित्ने माओवादीको अनुमान

जिल्लामा मुख्य दल मानिएको माओवादी केन्द्रले प्रारम्भिक सर्वेक्षण गरेर सबै तहमा प्रमुख र उपप्रमुखसहित ५८ वटा वडामा एक्लै निर्वाचनमा जित हासिल गर्ने निष्कर्ष निकालेको छ । त्यसैले सकभर गठबन्धनबिना नै निर्वाचनमा भाग लिन स्थानीय कार्यकर्ताले नेतृत्वलाई सुझाव दिएका छन् ।

कांग्रेसले पुरानै शक्ति आर्जन गर्न गठबन्धनको प्रयोग गरेर बढीभन्दा बढी पदमा जित हासिल गर्ने दाउ अघि सारेको छ । कांग्रेसले २०४९ र २०५४ को स्थानीय निर्वाचनमा बहुमत जित हासिल गरेको थियो । अहिले पनि गठबन्धनमार्फत पुरानै शक्ति आर्जन गर्ने गरी उसले तयारी गरेको छ । तर माओवादी केन्द्रका कार्यकर्ताले त्यसो हुन नदिन उचित सहमति बन्न नसके गठबन्धन गर्न नहुने सुझाव दिँदै आएका छन् ।

गठबन्धनको टुंगो लाग्न ढिलाइ भइरहेको अवस्थामा एमालेले भने कम्तीमा ४ वटा तहमा आफ्नो दलको जित हुने विश्वास लिएको छ । राप्रपा नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता र कार्यकर्ताको साथ पाए आफ्नो पक्षमा जित हासिल गर्ने एमाले जिल्ला नेतृत्वको दाउ छ ।

कांग्रेसले १० वटा तहमध्ये ५ वटामा अध्यक्ष र बाँकी ५ वटा तहमा उपाध्यक्षसहित ३६ वटा वडामा वडाध्यक्षलाई उम्मेदवार सुनिश्चित गर्न सार्वजनिक माग गरेको हो । कांग्रेसले सबैमा आधा हिस्सा खोजेपछि जिल्लामा ठूलो मानिएको माओवादी केन्द्रका नेता कार्यकर्ता आक्रोशितसमेत भएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले एक स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष जितेको थियो भने १२ वटा वडा अध्यक्ष विजयी भएका थिए । ७२ वटा वडामध्ये माओवादी केन्द्र एक्लैले ४८ वडामा जितेको थियो । रोल्पाका ९ मध्ये रोल्पा नगरपालिकासहित माओवादी केन्द्रले ७ तहमा प्रमुख र उपप्रमुख जितेको थियो । जिल्ला समन्वय समितिमा उक्त दलको एकलौटी प्रतिनिधित्व भएको थियो ।

अघिल्लो निर्वाचनमा एमालेले भने दुई वटा तहमा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गरेको थियो । एमालेले अन्य १० वटा वडामा वडाध्यक्ष जितेको थियो । गठबन्धनभित्रका अन्य सहयात्री दलहरु एकीकृत समाजवादी र जनमोर्चालाई समेत उम्मेदवार छनोट गर्दा प्राथमिकता दिन सकिनेबारे गठबन्धन संयन्त्रमा छलफलको विषय बनेको छ । गठबन्धन गरेरै निर्वाचनमा भाग लिन सकेमा आफ्नो पार्टीको समेत जित हुने एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीमगरले स्वीकार गरे ।

गठबन्धनभित्रका दलबीच पहिले जिल्ला तहमा छलफल भएर प्रदेश र केन्द्रमा सिफारिस गरेपछि स्थानीय तहमा संयुक्त मोर्चा बनाएर चुनावमा जान सकिने अवस्था रहेको कांग्रेसका सचिव शेरबहादुर थापाले बताए । पार्टीको केन्द्रीय सर्कुलर भएकाले जिल्लाले विज्ञप्ति निकालेर आफ्ना धारणा सार्वजनिक गर्नुपरेको उनले बताए ।

‘केही दिनमा जिल्ला तहमा छलफल गरेर टुंगोमा नपुगेमा प्रदेश तहमा छलफल हुनेछ । त्यहाँ पनि टुंगोमा पुग्न नसके केन्द्रले निर्णय गर्ने अवस्था आउन सक्छ,’ उनले भने । त्यति गर्दा पनि टुंगोमा पुग्न नसकेमा मैत्रीपूर्ण रूपमा निर्वाचनमा बेग्लाबेग्लै पार्टीमार्फत स्थानीय तहको निर्वाचनमा भाग लिने उनले बताए । संयन्त्र बनाएर गठबन्धनलाई मजबुत बनाएर जानेबारे पार्टीको केन्द्रीय नेतृत्वले सर्कुलर गरे पनि जिल्ला र स्थानीय तहमा नेता कार्यकर्ताले मिलेर जान नसकिने तर्क अघि सारेका कारण ढिलाइ भएको हो ।

प्रकाशित : वैशाख २, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?