दैनिकजसो आमसभा र पार्टी प्रवेश
काठमाडौँ — स्थानीय चुनावको मिति नजिकिँदै गर्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशव्यापी दौहाडालाई तीव्र पारेका छन् । सत्तारुढ ५ दलले स्थानीय चुनावमा तालमेल गर्ने निर्णय गर्नुअघि देखि नै ओलीले देश दौडाहा थालेका थिए ।
अधिकांश कार्यक्रमहरु वैशाख ३० गतेको स्थानीय चुनावलाई लक्षित गर्दै आयोजना गरिएका छन् । यसक्रममा उनी पूर्वको इलामदेखि पश्चिमको बझाङसम्म पुगेका छन् । चैत ९ र १० गते काठमाडौंमा भएको केन्द्रीय कमिटी बैठकपछि अध्यक्ष ओलीको सक्रियता झनै बढेको देखिन्छ ।
यसक्रममा काठमाडौंमा हुने बैठकदेखि पार्टीका जनवर्गीय तथा पेसागत संगठनहरुको राष्ट्रिय महाधिवेशन उद्घाटन तथा सम्बोधन गरेका छन् । त्यसैगरी चैतको दोस्रो साता केन्द्रीय कमिटी बैठकबाट स्थानीय तहको चुनावमा रणनीति, उम्मेदवारको मापदण्ड र छनोटको विधि निर्माण गरेका थिए । देश दौहाडामा रहेका हिमाल, पहाड र तराई तीनै क्षेत्रका जिल्लाहरुमा ठूल्ठूला आमसभा आयोजना गर्ने र पार्टी प्रवेश गराउने गरेका छन् ।
एमाले प्रचार विभागमा उपप्रमुख विष्णु रिजालले पछिल्लो एक महिनामा अध्यक्ष ओलीले २५ जिल्लाको कार्यक्रमलाई सम्बोधन गरिसकेको बताए ।
'तल्लो कमिटीहरुबाट अध्यक्षको कार्यक्रमको निकै माग रहेको छ । एमाले र ओलीको आकर्षणले उहाँलाई प्रमुख अतिथि बनाउने माग थेगिनसक्नु छ । त्यसैले हामीलाई तल्लो तहको मागलाई व्यवस्थापन गर्नु निकै कठिन भएको छ । अन्य दलहरुबाट आउनेहरुको चाहाना पनि अध्यक्षको हातबाट टिका लगाउने रहेको छ,' रिजालले भने, 'एक महिनामा अध्यक्ष २५ जिल्लामा पुग्नु भएको छ । आगामी वैशाख ११ गतेसम्मका लागि अध्यक्ष ओलीको कार्यक्रम निश्चित भइसकेको छ । नयाँ तालिका मनोनयन दर्ताको काम सम्पन्न भएपछि गर्नेछौं ।'
उनले स्थानीय कमिटीको मागको आधारमा बढीभन्दा बढी ठाउँमा पुर्याउने गरि काम भैरहेको बताए ।ओलीको साथमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरु साथमf लैजाने गरेको रिजालले बताए । मनोनयन दर्ता हुने बैशाख ११ र १२ काठमाडौंमा रहन] र त्यसपछि जिल्लाहरुको कार्यक्रममा हुने गरी कार्यक्रम तय गरिएको एमालेले जनाएको छ ।
एमालेले पछिल्लो समयमा तराईमा आफ्नो प्रभाव विस्तारका लागि अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई भित्र्याउने नीति लिएको छ । पार्टी प्रवेशको कार्यक्रम अन्य जिल्लाहरुमा पनि आयोजना गर्ने गरिएको छ ।
त्यस्ता आमसभाहरुमा ओलीले ५ दलीय गठबन्धनको चर्को आलोचना गर्ने गरेका छन् । उनको निशानामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भन्दा पनि नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल हुने गरेका छन् ।
फागुन २१ गते इलामको सुखानीमा आयोजित गरिएको कार्यक्रममा सहभागी भएका ओलीले शुक्रबार लमजुङ पुगेका छन् । नयाँ वर्षको पहिलो दिन बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व स्काउट संगठन एशिया प्रशान्त क्षेत्रको 'मेधावी योगदान पदक' पूर्व प्रधानमन्त्री ओलीलाई प्रदान गरेकी थिइन् ।
ओली बुधबार सुनसरीमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।जसमा जसपाबाट निर्वाचित भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमाले प्रवेश गरेका थिए । गतमंगलबार राजधानीमा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा ‘संघर्षशील योद्धाहरु’ पुस्तक लोकर्पण गरेका थिए । मोतीदेवी स्मृति केन्द्र आयोजना गरेको कार्यक्रममा क्षेत्रमा योगदान गर्ने महिलाहरुलाई सम्मान गरेका थिए ।
त्यसको एक दिनअघि सोमबार सुदुरपश्चिम पुगेका थिए । बझाङको चैनपुरमा आयोजित आमसभा तथा पार्टी कार्यक्रमलाई सम्बोधन गरेका ओलीले मंगलबार ललितपुरमा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए । जबकी चैत्र २६ गते ओली पर्वतको कुश्मा र बाग्लुङको आमसभामा सहभागी भएका थिए । त्यसैदिन उनी कास्की पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । जसमा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य विष्णुजंग बस्नेत एमालेमा प्रवेश गरेका थिए ।
चैत २५ गते राष्ट्रिय जनस्वास्थ्यकर्मी संघको चौथो महाधिवेशनको उद्घाटन गरेका ओलीले चैत २४ मा बर्दिया सदरमुकाम गुलेरियामा आयोजित कार्यक्रममा सहभागी भए भने नेपालगञ्जमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।
बर्दियाको गुलरियामा नेपाल भूमिहिन सुकुम्बासी संगठनको महाधिवेशनमा सहभागी भएर सम्बोधन गरेका थिए । गुलरिया नगरपालिका उप प्रमुख सुशीला गिरीलाई पार्टी प्रवेश गराएका थिए । कांग्रेसबाट उपमेयरमा निर्वाचित गिरि एमालेका प्रवेश गरेकी थिइन् । चैत २२ मा वीरगञ्जमा आयोजित सभालाई सम्बोधन गरेका थिए । सो कार्यक्रममा एमाले छाडेर विभिन्न दलका नेता तथा कारकर्ता एमालेमा प्रवेश गरेका थिए । चैत २१ मा पेशागत संगठन प्रोग्रेसिभ इन्जिनियर एशोसिएसनको नवौं महाधिवेशनको ललितपुरमा उद्घाटन तथा सम्बोधन गरेका थिए ।
एमालेले सदस्य संख्या कम रहेका पेशागत तथा भ्रातृ संगठनहरुको महाधिवेशन स्थानीय चुनावअघि नै गरिसक्ने गरी योजना निर्माण गरेको छ । चैत २० मा काठमाडौंमा नेपाल बुद्धिजीवी परिषद्को १० औं महाधिवेशनको ओलीले काठमाडौमा उद्घघाटन गरेका थिए । चैत १९ गते पूर्वी पहाडी जिल्ला खोटाङमा आयोजित सभालाई सम्बोधन गरेका ओली चैत १८ मा काठमाडौंमा भएको राष्ट्रिय जनसंस्कृतिक महासंघको महाधिवशेनमा सहभागी भएका थिए ।
जबकी चैत १७ मा कर्णाली प्रदेशको कालिकोट, जुम्ला र दैलेखमा आयोजित छुट्टाछुटै आमसभालाई सम्बोधन गरेका थिए । एमालेले कालिकोटको सदरमुकाम मान्म, जुम्लाको सिन्जा र दैलेखको दुल्लुमा सभा आयोजना गरेको थियो ।
चैत १६ गते काठमाडौबाट उनले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता तयारी कार्यशालाको भर्चुअल सम्बोधन गरेका थिए । त्यसको एक दिनअघि काठमाडौंमै नेपाल उत्पीडित जातीय मुक्ति समाजको छैठौं महाधिवेशनमा उदघटन र सम्बोधन गरेका थिए ।
चैत १४ मा ओली लुम्बिनी प्रदेशको कपिलबस्तु पुगेका थिए । सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका सांसद वृजेशकुमार गुप्तालाई ओलीले स्वागत गरेका थिए । सो कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, एमालेमा प्रवेश गरेका थिए ।
चैत १२ मा काठमाडौंमा आयोजित मुस्लिम इत्तेहाद संगठनको छैटौं महाधिवेशनको ओलीले उद्घाटन गरेका थिए । चैत ११ गते प्रदेश १ को उदयपुरमा आयोजित सभालाई ओलीले सम्बोधन गरेका थिए । चैत ८ गते काठमाडौंमा आयोजित कार्यक्रममा अभिनेतृ करिष्मा मानन्धर र समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रेमबहादुर सिंहलाई एमालेमा प्रवेश गराएका थिए ।
चैत ६ मा इलामको फिक्कलमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका ओलीले चैत १ मा राजधानीमा महिला संघको सातौं महाधिवेशनलाई उद्घाटन गरेका थिए ।
